अर्जुनधारा। अर्जुनधारा नगरपालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले नगर योजना आयोग गठन गरि अर्जुनधारालाई समृद्ध र विकसित नगर बनाउने प्रतिबद्धता जनाउनु भएको छ । अर्जुनधारा ५ नम्बर वडामा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार गोम्देनले केन्द्रीय सरकारले संचालन गरेको राष्ट्रिय योजना आयोग जस्तै स्थानीय सरकारले पनि नगर योजना आयोग गठन गरेर नगरको समृद्धी र विकास गर्ने बताउनु भएको हो ।
उहाँले नगर योजना आयोगमा विज्ञहरुको टिम निर्माण गरि नगरको सम्भावनाहरुको पहिचान गरेर उचित र वैज्ञानीक ढंगबाट विकास गर्ने आयेजना रहेको बताउनुभयो । प्रदुषणरहित, बिषदीरहित नगर निर्माण गर्न र शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार लगायतका क्षेत्रको समान विकासकालागि आयोगले बिशेष भुमिका खेल्ने गोम्देनले बताउनुभयो ।
त्यस्तै गोम्देनले नगरपालिकामा आफुहरु विजयी भए प्रत्येक वडावडामा लोकसेवा आयोगको निशुल्क कक्षा संचालनगरि राष्ट्र सेवक कर्मचारी उत्पादन गर्ने योजना रहेको बताउनुभयो । बाटो बिजुली लगायतका भौतीक पूर्वधार मात्रै विकास नभएको बताउदै उहाँले नागरिकको जिवनस्तर बृद्धी र चेतना बृद्धीकालागि आफुहरुले काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
१० नम्बर वडाको निर्वतमान वडाअध्यक्ष गोम्देनले आफु नेतृत्वको टिम नगरपालिकामा विजयी भएमा शनिश्चरे अस्पताललाई सुबिधा सम्पन्न बनाउने र प्रत्येक नगरबासीलाई सहजै स्वास्थ्य सेवा उपलब्.ध गराउने प्रतिबद्धता जनाउनु भयो । त्यसकालागि जग्गा समेत व्यवस्थापन भईसकेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा नेकपा एमालेको तर्फबाट अर्जुनधाराको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले आफु बालबालिकाको अभिभावक र जेष्ठ नागरिकको साहरा बन्ने गरि काम गर्ने बताउनु भयो । उहाँले एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै आफुपनि न्यून स्तरको परिवारको सदस्य भएकाले नगरबासीको समस्या समाधान गर्न सदैव काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नगरका नागरिकहरुलाई प्राबिधिक शिक्षासहित स्वरोजगार बनाउन पहल गर्ने बताउनुभयो ।
चुनावी कोणसभामा वडा नम्बर ५का वडाअध्यक्ष पदका उम्मेदवार डम्बर कुमार घिमिरेले पनि आफुहरुलाई विजयी गराउन आग्रह गर्नुभएको थियोे । सदस्य पदका उम्मेदवारहरु लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपालीले पनि मतदाता समक्ष मत दिन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा चर्चित कलाकार विल्सन बिक्रम राई (तक्मेबुढा)ले बलदेव गोम्देन नेतृत्वको टिम अर्जुनधाराको विकासका लागि उपयुक्त भएकाले विजयी गराउन आग्रह गर्नुभएको थियो । राइसहित नायीका रजनी गुरुङ (मंगलीले)पनि कार्यक्रममा प्रस्तुती राख्नु भएको थियो ।
नेकपा एमाले अर्जुनधाराले चुनावी घरदैलो अभियान अन्र्तगत अर्जुनधारा नगरपालिकाको ५ नम्बर वडामा शनिबार मतदाता भेटघाट तथा कोणसभा कार्यक्रम गरेको हो ।