Aamsanchar

बीउ आलुको अनुसन्धान सुरू

Author Image
आइतवार, पौष १७, २०७३

इलाम।aalu

इलामको जौबारीमा रहेको कृषि अनुसन्धान केन्द्रले डढुवा रोग अवरोधक आलुको बीउको अनुसन्धान सुरू गरेको छ ।

रोग प्रतिरोधात्मक क्षमता भएको आलुको जात छान्न केन्द्रले ८६ प्रकारका आलुको बीउको परीक्षण सुरू गरेको हो ।

किसानले रोपेको आलु बारीमै डढुुवा रोगले सखाप पार्न थालेपछि समाधानको खोजी गर्न अनुसन्धान थालिएको केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक केशवप्रसाद श्रेष्ठले बताउनुभयो ।

तीन दशकसम्म आलु विकास केन्द्रको रूपमा परिचित जौबारीमा पुनःस्थापना भएको बागवानी विकास केन्द्र र कृषि अनुसन्धान केन्द्रले अनुसन्धानपछि सात प्रकारका आलुको बीउ पनि किसानलाई दिन थालेको छ । पहिलो वर्ष तीन टन बीउ आलु किसानलाई दिइसकेको केन्द्रले यो वर्ष १२ टन बीउ किसानलाई दिएको छ ।

कृषि अनुसन्धान केन्द्रले डेजिरे, खुमल सेतो, कार्डिनल, जनकदेव, खुमल लक्ष्मी, कुर्फी ज्योतिलगायतका सात प्रकारका आलुको बीउ उत्पादनका लागि किसानलाई बाँड्न थालेको हो । केन्द्रले पूर्वी इलामका जमुना, जोगमाई, प्याङ, नयाँबजार, गोर्खे, पशुपतिनगर गाविसका किसानलाई बीउ आलुसँगै खेती गर्न उपयुक्त सीप सिकाएको छ ।

विषादी प्रयोग नगरी परीक्षण सफल भएमा आलुको उत्पादन सहज हुनेछ । यसले किसानको आम्दानी बढाउँदै जीविकोपार्जनमा सुधार ल्याउने केन्द्रले आशा गरेको छ ।

Views: 186

प्रतिक्रिया (०)