Aamsanchar

होसियार ! बालबालिकाकाे आँखा टेढाे छ भने हुन सक्छ रेटिनोब्लास्टो क्यान्सर

Author Image
शनिवार, जेठ २१, २०७९

काठमाडौं – नवजात शिशुदेखि पाँच वर्ष सम्मका बालबालिकाको आँखा डेढो भएमा कालो भागको बीच भागमा सेतो भएकाहरुलाई नेपाली समाजमा ‘भाग्यमानी’ भन्ने चलन छ । तर डेढो आँखाकै आधारमा भाग्यमानी भन्दै बस्दा उनीलाई रेटिनोब्लास्टो अर्थात् आँखाको क्यान्सर हुन सक्ने आँखा रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार बताउँछिन् ।धेरै अभिभावकहरुले आफ्ना बालबालिकामा रेटिनोब्लास्टोका लक्षण भएको हत्तपत्त थाहा नपाउने भएकोले उनीहरूलाई अस्पताल पुर्‍याउँदा जटिल अवस्थामा पुगिसकेको हुने डा. राजकर्णिकारको भनाइ छ ।१५ हजार नवजात शिशुको जन्ममा एक जनामा रेटिनोब्लास्टो क्यान्सर हुने अध्ययनहरूले देखाएको छ । डा.राजकर्णिकारका अनुसार यो रोगले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । बालबालिकाको एक वा दुवै आँखाको भित्री पर्दा (रेटिना) बाट पलाउने क्यान्सर रेटिनोब्लास्टो हो ।नेपाललगायत विकासोन्मुख देशहरूमा बालबालिकाको आँखामा हुने क्यान्सर अर्थात् रेटिनोब्लास्टो रोगबाट हुने मृत्युदर  ५० प्रतिशत सम्म छ । यद्यपि विकसित देशहरूमा भने रेटिनोब्लास्टो रोगबाट ५ प्रतिशत भन्दा कम मृत्यु दर रहेको अध्ययनहरूले देखाएको छ ।डा. राजकर्णिकारका अनुसार आँखा डेढो हुनुका साथै आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु यो रोगको मुख्य लक्षण हो । यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टीका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु,  आँखाको आकार ठूलो हुँदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन ।बालबालिकाको आँखामा यस्ता लक्षण देखिएपनि उनीहरू स्वस्थ नै देखिन्छन्, जसका कारण अभिभावकलाई यस विषयमा थाहा नहुँदा पछि ढिलो भइसकेको हुन्छ । समयमा उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रूपमा बढिरहन सक्ने डा. राजकर्णिकारको भनाइ छ ।यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम हुन्छ । डा.राजकर्णिकार भन्छिन्, ‘कतिपयले आफ्नो बच्चाको रोग लुकाउन अस्पताल जानमा ढिलाइ समेत गर्छन् । यसले झनै समस्या पार्छ ।’

यस्तै, रेटिनोब्लास्टो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिने गर्छ । दुवै आँखामा रेटिनोब्लास्टो देखा परेमा यो रोग वंशाणुगत पनि हुन सक्छ । त्यसैले, बिरामीका परिवारको अन्य सदस्यको पनि आँखा जाँच गराउन अति आवश्यक छ । यस्तै, यस्तो अवस्थामा शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना धेरै हुने आँखा रोग विशेषज्ञहरूको भनाइ छ ।

एक अनुसन्धानमा आँखासहित आँखा वरपरका हड्डीसमेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारणमध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको पाइएको छ । डा. राजकर्णिकारका अनुसार यसको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी, थरमोथेरापी क्रयथेरापी र रेडियोथेरापी प्रमुख उपचार पद्धति हो ।

रेटिनोब्लास्टो जटिल रोग भए ता पनि रोगको लक्षण बुझी सुरुवाती अवस्थामा नै विशेषज्ञकहाँ गई रोग पत्ता लगाइ उपचार गरेमा पूर्ण रूपमा निको पार्न सकिन्छ ।-राताेपाटीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 409

प्रतिक्रिया (०)

सम्बन्धित खबर