Aamsanchar

नेपाली गजल को श्रीगणेशकर्ता मोतीराम

Author Image
शनिवार, भदौ ११, २०७९

कहाँसम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कति मर्न लागे कति डर्न लागे

कुश भित्र्याउने चटारोका बीचमा आजको दिन नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको जन्म जयन्ती पनि हो । माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्‍यौँ ।

मोतीराम को जन्म
कुमाऊगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा उनको जन्म भएको थियो ।

मोतीरामको शिक्षा
दरबार हाइस्कूलमा गनिएका राणा खानदानका बीच शिक्षा लिने अवसर प्राप्त गर्ने थोरै नेपालीमध्ये एक मोतीराम ६ वर्षकै कलिलो उमेरमा स–परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्ययन गरेको पाइन्छ । जसको फलस्वरूप केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए । नेपाली साहित्यिक कौशललाई मलजल गर्न र यसको विकासका लागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतुलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवि भानुभक्तसँगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो । साहित्यिक अग्रता मात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छस्

अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपुको मन थर्कोस् थरथर गरी छण घरीमा
यावन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत यो नेपालको मुलुक बची कञ्चन रही गयो।

मोतीराम र भानुभक्त
आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केही फुटकर कविताहरू सुनेको मोतीरामले त्यसपश्चात् भानुभक्तका कृतिहरूलाई जनमानसमा उजागर गर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृत्तिकाबारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए सायद आज भानुभक्तका सबै कृतिहरू हामीमाझ हुने थिएनन् । भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् ।

नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारत जीवनलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ । नेपाली साहित्यिक भीडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतिहरू मनोवेग प्रवाह, गजेन्द्र मोक्ष, प्रह्लाद भक्ति कथा लगायतका आज पनि उपयोगी र महत्त्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला–बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानका साथ गरिरहन्छन् । मित्र देव शमशेर जङ्गबहादुर राणाको अनुरोधमा शारदाको नाट्य निर्देशन गरी प्रधानमन्त्री वीर समसेरको दरबारमा मञ्चन समेत गरिएको थियो । त्यसपश्चात् कहीँ–कतै शारदालाई मञ्चन गरिएकोबारे त्यति चर्चा पाइँदैन । जाँदा जाँदै हाम्रा अग्रज श्रद्धेय मोतीराम भट्टको यो साहित्यिक भाव केवल यहाँहरूका लागि हाम्रो पात्रोमास्
कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ

हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ

यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी

विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई

नेपाली गजल को श्रीगणेश
नेपाली भाषामा गजलको प्रारम्भ यिनै महान् मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी सङ्गत र सामीप्ययता पाइन्छ । शृङ्गार रसले भरिएका उनका गजलहरू अत्यन्तै लोभ लाग्दा छन् स्

यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।

यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।

वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कै पनि उनका शृङ्गार रसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिएकै हुनुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बेलाको बोली
मङ्गलवार, मंसिर ४, २०८१
आशा निराशा (कविता)
आइतवार, कार्तिक २५, २०८१
बूढो गोरु ( व्यङ्ग्य कविता )
शुक्रवार, कार्तिक १६, २०८१