Aamsanchar

रक्सि खुवाएर गर्भवती प्रेमिकाको हत्या गर्ने पक्राउ

Author Image
शनिवार, भदौ १८, २०७९

बुटवल – आफ्नी प्रेमिकाको हत्या गरी फरार भएका एक युवकलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, सालझण्डीको सक्रियतामा फायरलाइन जंगलमा लगेर गर्भवती प्रेमिकाको हत्या गरी फरार भएका कपिलवस्तुको शिवराज ७ जहभारी बस्ने ३६ वर्षिया काशिराम मुराउ पक्राउ परेका हुन् ।

उक्त घटनाको उजुरी वा खोजतलासका लागि निवेदन नपरे पनि घटनाका बारेमा इलाका प्रहरी कार्यालयमा जानकारी भएको तथा घटनाको मुचुल्का बनेको हुँदा प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीका अनुसार सुरुमा महिलाको लासको फोटो र उनले लगाएको कपडा, घडी र मालालाई सबुत प्रमाणका रूपमा लिएर खोजतलास गर्ने क्रममा रूपन्देही जिल्लामा केही पत्ता नलागेपछि कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा खोजतलासको लागि सई मधु मरासिनीको कमाण्डको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । यही साउन महिनामा उक्त हत्या गरी छाडिएकी महिला गुल्मी जिल्ला साविक अर्खवाङ २ की ३५ वर्षिया वसन्ती भनिने धनकुमारी अर्याल रहेको खुल्न आएको थियो ।

अर्याल गुल्मीबाट भागेर बुटवल उपमहानगरपालिका ११ मगरघाटमा बस्ने क्रममा २०७३ सालतिर मुराउसँग भेट भएको प्रहरीको भनाइ छ । त्यस समयमा उनले मिस्त्री काम गर्ने व्यक्तिसँग विवाहा गरेर दुई छोरीको साथमा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार सोही क्रममा लोहारसँग बस्दै आए पनि अर्याल मुराउसँग नजिकिएकी थिइन् । र, गर्भवती अवस्थामा दुबैजना कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्ढी भन्ने स्थानमा २०७७ साल वैशाखको अन्तिम हप्तादेखि कोठा भाडामा लिएर बस्न थालेका थिए ।

मुराउ पहिले नै विवाहित रहेको र घरमा तीन छोरी र एक छोरा भएका कारण महिलालाई घरमा नलगेको प्रहरीले जनाएको छ ।   मुराउले महिला गर्भवती भएपछि सँगै बसेको भए पनि उसले गर्भ फाल्न पटकपटक भनेको तर उनले नमानेपछि उसको हत्या गर्ने योजना बनाएको अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ ।

सोही योजनामा २०७७ साल पुसको अन्तिम हप्ता वसन्ती बुटवल आएको अवस्थामा हत्या गर्ने योजना बनाएको प्रहरीले बताएको छ । “वसन्तीलाई मुराउ बुटवल फुलबारीसम्म लिन आएको र सालझण्डीसम्म बसमा सँगै लिएर गई सालझण्डीमा लोकल रक्सी र दालमोट किनी आफूलाई सालझण्डी बजारमा मानिसहरूले चिन्ने हुनाले नजिकैको जंगलमा जाऊँ, उतै रक्सी खाई रमाइलो गरौंला भनी दिउँसो ३ बजे फायरलाइन जंगलमा लगेर रक्सी सेवन गराई हत्या गरेको पाइएको छ,” प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले भने ।

मुराउले आफैंले लगाएको गलबन्दीले महिलाको घाँटी कसी हत्या गररेर लास नचिनियोस् भनी महिलाले लगाएको स्विटरले मुखमा बेरी नजिकैको रुखमा बाँधको बयानबाट खुलेको छ । मुराउले आफूले लगेका रक्सीको बोतल र महिलाले लगाएका चप्पल वाणगंगा नदीमा बगाई दिई फरार भएको अनुसन्धानको क्रममा खुलेको छ ।

महिलाको शव गाईबाख्रा चराउने स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय सालझण्डी प्रहरीलाई खबर गरेका थिए । तर, उनको सनाखत नै हुन सकेको थिएन । प्रहरीले अनुसन्धान गर्ने क्रममा बुवाबाट महिलाको शव सनाखत गराएपछि मुराउले नै छोरीको हत्या गरेको भनी प्रहरीमा किटानी जाहेरी दिएपश्चात प्रहरीले थप अनुसन्धानको क्रममा मुराउलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको  प्रहरी निरीक्षक मरासिनीले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर