

झापा । झापाको भद्रपुरमा चोरीका सामान सहित चोरी कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् ।

गत भदौ १ गते बेलुका ४ः३० बजे भद्रपुर–७ विषम टोल स्थित राजेन्द्र गिरीको घरमा चोरी गरेर लुकिछिपी रहँदै आएका भद्रपुर १० बस्ने वर्ष २२ का रितिक कुमार शर्मा र भद्रपुर ७ बस्ने रोशन राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा कोही नभएको मौका छोपी घरको कोठा भित्र भएको दराजमा राखेको सुनका गरगहना, मोबाइल तथा नगद समेत गरी अन्दाजी रु १० लाख मूल्य बराबरको सामान चोरी भएको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा दसी प्रमाण सहित उनि हरुलाई पक्राउ गरी दुवै जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट जिल्ला अदालत झापामा उपस्थित गराई म्याद समेत लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले आमसंचारलाई जानकारी दिएको छ ।

प्रहरीले प्रतिवादी शर्मा र राजवंशीको साथबाट १ थान मोबाइल, टुक्रा पारेको अवस्था रहेको सुनको पहेलो रङको चुराको टुक्रा २ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको पहेलो रङको पञ्चरत्नको टुक्रा २ थान, पहेलो रङको सुनको ब्रास्लेट १ थान, कानमा लगाउने पहेलो रङको सुनको रामलीला २ थान र टुक्रा पारेको अवस्थामा रहेको सुनको पहेलो रङको चन्द्रमाको टुक्रा २ थान बरामद भएको झापा पहरीले जानकारी दिएको छ ।
झापामा केही दिन यता चोरीका घटनाहरू ह्वात्तै बढेको छ । दशैँ चाडबाड नजिकिए सँगै चोरीका घटना बढ्न थालेपछि चोरी –टकैटीलाई निरुत्साहित पार्न विषेश प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।


