Aamsanchar

चेपाङ जाती परिचय, आज चेपाङ चोनाम

Author Image
शनिवार, भदौ २५, २०७९

चेपाङ जाती परिचय
महाभारत पर्वत श्रृंखला वरिपरि बसोवास गर्ने तिब्बती वर्मन समुदायको एउटा जुझारु जाती, चेपाङ जातीको आज विशेष पर्व चोनाम पर्व हो । प्रकृतिसँग अत्यन्तै नजिक, कृषिप्रधान अनि धेरै नै आत्मीय स्वभावका चेपाङहरू सुरुसुरुमा बसाइ सरिरहने अनि घुमन्ते तवरले जीवन यापन गर्ने खुला अनि रसिक जिवनशैलीका लागि अत्यन्तै प्रख्यात छन् ।

ऐतिहासिक रूपमा जङ्गल तथा जङ्गलको आसपासबाट दाउराको सङ्कलन गर्दै नजिकै रहेका खोलाहरूको माछा मार्दे, चमेरा लगायतका जङ्गली पन्छीहरू र जनावरको सिकार खेल्दै आफ्नो सरल र प्राकृतिक जीवनयापन गर्ने चेपाङ जातीका दाजुभाइ दिदीबहिनीहरू बिस्तारै अब एक ठाउँमा थलो बनाएर आजभोलि व्यवस्थित बसोबास गर्दै हुनुन्छ । तीव्र गतिमा भइरहेको जङ्गल फडानी, सहरीकरण अनि वन्यजन्तुको विनाशका कारण यो जातीको मूलभूत जीवन आधारमा समस्या ल्याएको हो छ ।

चेपाङ जातीहरूमा ऐतिहासिक रूपमै कुपोषण र गरिबीको समस्या देखिँदै आएको छ । धेरैजसो तनहुँ, गोर्खा, चितवन र धादिङ लगायत ४४ वटा जिल्लामा जङ्गलको पाखा र खोलाको तिरमा करिब ३००० मिटर आसपासमा बसोबास गर्ने यो समुदायलाई सहरीकरण, विकास अनि चेतनाको लहरले मज्जाले छुन सकेको छैन । उनीहरूको मुख्य धर्म ‘बोन’अर्थात् प्रकृति पूजा हो । हुन त उनीहरूको परम्परागत जीवनशैलीको पनि बेग्लै मज्जा छ तथापि विकासका आधारभूत पूर्वाधार, संरचना अनि आयामसङ उनीहरूलाई अभ्यस्त गराउन जरुरी छ ।

प्रजा थर राख्नु पछाडिको पृष्ठभूमि
राजा महेन्द्रको पालामा उनले चेपाङ समुदायलाई आफ्नो प्रजा भनी सम्बोधन गरेकामा तत्पश्चात् अधिकांश चेपाङहरूले आफ्नो नाम पछाडिको थरमा प्रजा लेखाउन थालेको इतिहास छ भने कसै कसैले सामान्य रुपमा चेपाङ मात्र थर राखेको पनि पाइन्छ । विगतका समयमा उनीहरूको गरिबी र शिक्षाको कमीलाई आधार बनाएर धर्म परिवर्तन गराउने, मानव र अङ्ग तस्करीमा प्रयोग गर्ने कार्यहरूमा देखिएकोमा सम्बन्धित निकायले चालेका कदमहरू र उनीहरूलाई समस्ष्टिगत विकासको मूलधारमा ल्याउने कदमहरू यथेष्ट नभएको हामीमाझ प्रस्ट छ ।

चेपाङ चोनाम
आज चेपाङ हरुको विशेष पर्व चेपाङ चोनाम, नयाँ घैया वाली अर्थात् धान वाली खान कालागि झाँक्री अर्थात् पाम्बेलाई घरमा बोलाएर ढ्याङ्ग्रो ठोकेर यो पर्व मनाउने गर्दछन्, फलफूल कर्कलो गाभा अगाडि राखेर पितृ अनि देवतालाई मन्त्र फलाक्दै झाँक्रीले बोलाउने गर्दछ । आफूले उत्पादन गरेको वाली ले सामान्यतया ३ महिना खान पुग्ने यस जातीले ९ महिना कष्टपूर्वक जिन्दगी बाँच्न बच्नपर्दछ । रातभर ढ्याङ्रो ठोकेर झाँक्रीले यसरी पितृलाई अनि देवतालाई मन्त्रबाट बोलाएर आयु हुनेलाई बाँच्न देऊ भनी धानको टिका लगाइदिन्छ, यसपछि धान र फलफूल खान योग्य मानिन्छ ।

आजको रात चेपाङ युवा युवतिले नाचगान गरी रमाइलो गरेर विताउँदछन । मात्र १ प्रतिशत चेपाङलाई मात्र गरेको कृषिले खान पुग्छ । चेपाङ एउटा सीमान्तकृत समुदाय हो र यो समुदायको रक्षा र संस्कृतिको जगेर्ना साँच्चै नै आवश्यक छ, आजको चोनाम पर्व उनीहरूको वडहपर्व अर्थात् हिन्दुका लागी दसैँ भनेजस्तै पर्व हो तथापि चेपाङ समुदायको यो पर्वमा सरकारले बिदा नदिएकोमा भने उनीहरूको गुनासो रहेको छ, आजको दिनमा बिदा दिएमा सम्पूर्ण नेपालले चेपाङ समुदायलाई नजिकबाट चिन्ने मौका पाउन सक्नेछन् भन्ने उनीहरूको गुनासो छ ।

जे होस यो भदौको घैया भित्राएकोमा चेपाङ समुदायलाई हार्दिक बधाई अनि भविष्यमा देवता दाहिने हुन, प्रकृतिले र मौसमले कृषि कार्यमा साथ देओस् अनि समुन्नत चेपाङ समुदायको निर्माणमा सबैको सहयोग, समन्वय कायम हुन सकोस् । सबैको जय होस्, चेपाङ चोनामको सबैलाई शुभकामना !

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 392

प्रतिक्रिया (०)

सम्बन्धित खबर