बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
आज (शनिबार) बिर्तामोडमा प्रतिनिधि मूलक साधारणसभाबाट विभिन्न प्रस्तावहरू पास गरिएको छ ।
कर्मचारी दरबन्दी, विषेश प्रस्तावहरू, सहकारी एकीकरण, नीति तथा कार्यविधि, विनियम पुनर्लेखन, कर्जा मिनाहा, समिति उपसमितिको बैठक भत्ता सुविधा, व्यवस्थापकको सेवा सुविधा, बाह्य लेखा परीक्षण, कर्मचारी प्रशासन नियमावली संशोधन, सञ्चालक समितिको बैठक, रेमिट्यान्स सुविधा, संस्थाको भावी कार्यक्रमलगायतका योजनाहरू सिम्रिकले पास गरेको हो ।
२०६७ सालमा स्थापना भई सेवा सुरु गरेको सिम्रिकको अघिल्लो वर्षको वासलात १,८४,७७,६३,२६९ रुपैयाँ ७० थियो भने हाल २,६३,००,६२,४८८ रुपैया ४० पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आर्थिक वर्ष ०७९/०८० मा २५ प्रतिशत वृद्धि गरेर ३,२९,००,८७,०७५ रुपैंया पुर्याउने लक्ष राखेको छ । त्यसैगरी ०८१/०८२ मा ४,८०,३९,१५,२४६ रुपैयाँ पुर्याउने ३ बर्षे कार्ययोजना प्रस्तुत गरिएको छ ।
झापामा २७, इलाममा १०, मोरङमा १० गरि सिम्रिकको ४७ वटा सेवा केन्द्र रहेको छ । हाल ५१ हजार ४३६ जना शेयर सदस्य रहेको र जिल्लामा स्थापित सहकारी हरुको बिचमा सदस्य सेवा र कार्यक्षेत्र पहुँचको दृष्टिकोणले तेस्रो स्थानमा रहेको सिम्रिकले दावी गरेको छ ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभामा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाईँ, नगर सहकारी विभाग प्रमुख डिल्ली दाहाल, झापा जिल्ला सहकारी संघका सचिव भवानी प्रसाद दंगाल, शुभलक्ष्मी सहकारीका अध्यक्ष टुकबहादुर दाहाल, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक विवेक डाँगीलगायतले मन्तव्य राखेका थिए ।
संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले स्वागत गरेको कार्यक्रममा सञ्चालन जोखिम विभाग अधिकृत प्रेम बस्नेत ९विजय०ले गरेका थिए ।