कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा बजार अनुगमन गर्दा ६ वटा व्यवसायिक स्थलमा व्यापारीहरूले म्याद गुर्जिएका खाद्यवस्तुहरू बिक्री गर्न राखेको भेटिएपछि उक्त खाद्यवस्तुलाई जफत गरी नष्ट गरिएको छ ।
आज सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा सम्बन्धित सरकारी कार्यालयका प्रमुख, स्थानीय सरकारका प्रतिनिधि र समाजिक संघ संस्थाहरूका प्रतिनिधि सहितको अनुगमन टोलीले ति पसलहरूमा अनुगमन गर्दा अखाद्य बस्तुहरू फेला परेको थियो । जफत गरिएको अखाद्य बस्तुहरूलाई आजै सरोकारवालाहरूको रोहबरमा नष्ट गरिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले आमसंचारलाई जानकारी दिए ।
अनुगमन टोलीले सतासी बहुमुखी सहकारीद्वारा सञ्चालित मार्टबाट म्याद गुर्जिएको २१४ प्याकेट पापड, न्यु चिल्ली रेष्टुरेन्टबाट थुक्पा, जयमाता पाथिभराबाट चिसो पिय पदार्थ र बिस्कुट, कनकाई फलफूल पसलबाट बिस्कुट तथा रसवरी र वुष्ट त्यसैगरी भान्जा स्टोरबाट ५ प्याकेट काजु, प्रमोद स्टोर्स बाट ४ प्याकेट फ्राइ मटर बरामद गरिएको घरेलु तथा साना उद्योग भद्रपुरका प्रमुख प्रेमप्रसाद सापकोटाले बताए ।
विशेष गरि चाडपर्वको बेला धेरै ग्राहकहरू पसलहरूमा किनमेलमा जाने हुँदा सोही भिडभाडको मौका छोपेर ब्यापारीहरूले म्याद गुर्जिएका खाद्यवस्तुहरू बिक्री गर्ने गरेको गुनासोहरू धेरै आउने गरेर र बजार अनुगमनलाई तीब्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।