Aamsanchar

झिलझिले–सताक्षीधाम कालोपत्रेको तयारी

Author Image
मङ्गलवार, मंसिर २०, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाम जाने सडक कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उक्त सडक कालोपत्रे हुन थालेसँगै सताक्षीधाममा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।

प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेटमा पूर्वपश्चिम राजमार्गबाट झिलझिले बजार उत्तर पाँच किलोमिटर सडक कालोपत्र जारी छ ।

प्रदेश सरकारको रु ३५ करोड २६ लाख १३ हजारको बजेटमा शिवसताक्षीधामबाट झिलझिले बजार हुँदै दक्षिण होकलबारीसम्मको २६ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । तीमध्ये राजमार्गको उत्तरधाम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सडक कालोपत्र गरिसकेको सडक पूर्वाधार तथा सहरी विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले जानकारी दिए ।

उनले राजमार्ग दक्षिण होकलबारी जाने सडकमा समेत कालोपत्र गर्ने कार्य तीव्ररूपमा भइरहेको बताए । “ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सडकै कारण थप सहयोग पुग्ने देखियो”, उनले भने, “धाममा आवतजावत गर्ने भक्त तथा पर्यटकलाई सजिलो होस् भनेर काममा हामीले विलम्ब गरेनौँ ।”

ठेक्का दिएको निर्माण कम्पनी रौताह खनाल जेभी इलामले चालु आर्थिक वर्षभित्रमा सो सडक सम्पन्न गर्ने जिम्मा पाएको छ । प्रदेश सरकारले बनाइदिएको कालोपत्रसहितको सडकमा विद्युत बत्ती जडान भने शिवसताक्षी नगरपालिकाले गरिदिएको हो ।

उनले सडक बनेसँगै धाममा आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बताए । उनका अनुसार चुनाव सकिएसँगै धामक्षेत्रमा दर्शन गर्न र वनभोज खान दैनिक पाँच सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

झापाको शिवसताक्षी नगरमा तीनवटा धार्मिक तथा पर्यटकिय छुट्टा छुट्टै संस्था छन् । दोमुखा,चिल्लागढ र सताक्षीधाम नगरका प्रमुख धार्मिक तथा पर्यटकीय संस्था हुन् । दोमुखा जाने २९ सय मिटर सडक पनि शिवसताक्षी नगरपालिकाले कालोपत्रे गर्ने भएको छ । तीनवटै पर्यटकीय क्षेत्रमा सडक पूर्वाधार पुगेपछि नगरपालिकाको राजस्व आम्दानी पनि बढ्ने शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा ले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)