बिर्तामोड । नेपाल इङ्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा) झापाले झापाको बिर्तामोडमा दुई दिवसीय महिला अंग्रेजी शिक्षक सम्मेलन सम्पन्न गरेको छ ।
झापाका विभिन्न पालिकामा रहेका सामुदायिक र निजी विद्यालयबाट प्रतिनिधित्व गर्दै ३७० जना महिला अंग्रेजी शिक्षकहरूले सहभागी जनाएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई ९मामा०ले जानकारी दिए ।
शैक्षिक योग्यताले मात्र अबको शिक्षण अधुरो हुन्छ । प्रविधियुक्त शिक्षा आजको आवश्यकता भएको छ । त्यो सँगै शिक्षकहरूले नयाँ नयाँ शिक्षण विधि र पद्धतिलाई प्रयोग गरेर शिक्षण गराउनु पर्ने हुन्छ । त्यसका लागि तालिम आवश्यक पर्छ । नेल्टा झापाले झापाली शिक्षकहरूलाई विश्वमा सफल भएका शिक्षण कला सिकाउने र शिक्षकहरु मा अंग्रेजी भाषामा निखारता ल्याएर कुशल शिक्षक तयार पर्न सके मात्र नेपाली विद्यार्थीहरूले ग्लोबल शिक्षाको पहुँच राख्न र अवसरहरू प्राप्त गर्न सक्ने छन् । नेल्टा झापाले नयाँ नयाँ शिक्षण विधि, अभ्यास र शिप हरु झापा शिक्षण गराउदै आएका शिक्षकहरूलाई प्रदान गराउँदै लाने र झापा जिल्लालाई उच्च गुणस्तरीय शिक्षा आर्जन गर्ने जिल्लाको रुपमा झापालाई परिचित गराउने नेल्टा झापाले लक्ष लिएको अध्यक्ष भट्टराईले बताए ।
मंसिर २३ र २४ गते बिर्तामोडमा आयोजना भएको सम्मेलन नेपालमै एकै पटक धेरै सङ्ख्यामा महिला शिक्षकहरूलाई ‘प्रेरणा, नेतृत्वकर्ता र प्राविधिक शिक्षण, सशक्तीकरण तालिम प्रदान गरेको नेल्टा झापाले दावी गरेको छ ।
झापाका १५ वटै पालिकाबाट व्यक्तिगत र संस्थागत रुपमा महिला शिक्षकहरूको सहभागिता रहेको थियो ।
सम्मेलनमा प्रमुख वक्ताको रुपमा नेल्टाकी अध्यक्ष प्रोफेसर मोतीकला सुब्बा देवान, नेल्टाका सल्लाहकार हेमन्तराज दाहाल, नेल्टाका बरिष्ठ उपाध्यक्ष प्रोफेसर। लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा विशेषज्ञ बैशाली प्रधान, टोस्ट मास्टर्सकी अध्यक्ष एन्जिला बिष्ट र युएसएका दुईजना विज्ञहरूले सहजीकरण गरेको नेल्टा झापाका उपाध्यक्ष केशवप्रसाद मैनालीले बताए ।
झापामा आयोजना भएको पहिलो वृहत महिला अंग्रेजी शिक्षक सम्मेलनमा सहभागी महिला शिक्षकहरूले सम्मेलन अत्यन्तै प्रभावकारी रहेको प्रतिकृया पाएकोले हामीलाई हौसला मिलेको छ । आगामी दिनमा यस्ता सम्मेलनहरूलाई निरन्तरता दिने नेल्टा झापाका सचिव टिका सुवेदीले भने ।
कार्यक्रममा महिला अंग्रेजी शिक्षक सम्मेलन सम्पन्न गर्नको लागि झापाका केही पालिकाहरूले खेलेको सकारात्मक भूमिका र कार्यक्रमका लागि आर्थिक सहयोग गर्ने सहकारीहरु र विद्यालयहरुलाई पनि यस ऐतिहाशिक सम्मेलन सफल गर्ने श्रेय जाने नेल्टाका कोषाध्यक्ष वत्सल भट्टराई र सदस्य प्रकाश पराजुलीले बताए ।