Aamsanchar

हल्दिबारी माध्यमिक विद्यालयकाे स्वर्ण महोत्सव उद्घाटन

Author Image
शुक्रवार, पौष १, २०७९

झापा- झापाको हल्दिबारी गाँउपालिकामा अवस्थित हल्दिबारी माध्यमिक विद्यालय स्वर्ण महोत्सव सुरु भएको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साताव्यापी महोत्सवको आज एक भव्य समारोहका बीच १ नं प्रदेशका सामाजिक विकास मन्त्री राजन राईले समुद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री राईले स्वर्ण महोत्सव स्मारक अनावरण गर्नुका साथैँ विद्यालयको जग्गादाता माझिलाल राजवंशीको सालिक अनावरणका साथै पुष्पगुच्छा अर्पण गर्नुभयो । उहाँले प्रदेश सरकारले पनि शिक्षामा लगानी बढाएको बताउनुभयो । शिक्षाको बिकासका लागि तिनै तहका सरकार एकजुट हुनुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कुमार राईले अभिभावक, शिक्षक र बिधार्थिको संयुक्त पहलबाट मात्र शैक्षिक गुणस्तर वढाउन सकिने बताउनुभयो । बिध्यालयको शैक्षिक गुणस्तर विकासका लागि तिनै तहका सरकारले सहयोग गरिरहेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि निरन्तरताको अपेक्षा राख्नुभयो ।

स्वर्ण महोत्सव उद्घाटनको अवसरमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो साथै विज्ञान प्रदर्शनी समेत गरिएको थियो । साथै सो विद्यालयको स्वर्ण महोत्सव आजदेखि ७ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्रपति भण्डारीको सन्देश पत्र पढेर सुनाईएको थियो ।

सहायक प्रधानाध्यापक तुलसीप्रसाद कोइरालाले सञ्चालन र प्रधानाध्यापक टंकबहादुर पाख्रिनले स्वागतसहित विद्यालयको सम्पूर्ण गतिविधिका बारे प्रकाश पारेको सो समारोहका बीच विद्यालयका संस्थापक प्रधानाध्यापक नरेन्द्र कार्की र जग्गादाताकी धर्मपत्नी सरला राजवंशीलाई अभिनन्दनका साथै ५० हजार रुपैयाँभन्दा बढी प्रदान गर्ने दाताहरूलाई सम्मान लगायतका कार्यक्रम गरिएको थियो ।

महोत्सव उद्घाटनका अवसरमा विभिन्न जातीय झाँकीहरुका साथै विद्याथीहरुको र्सास्कृतिक प्रस्तुति रहेको थियो भने विद्याथीहरुले तयार पारेका विज्ञानको सामग्रीको प्रदर्शनी गरिएको थियो ।

२०२९ साल पुस १ गते हल्दिबारी निम्न माध्यमिक विद्यालयका नाममा स्थापित विद्यालयको स्वर्ण महोत्सव मनाउन ९९ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो । महोत्सव सफल पार्न देश विदेशमा रहेका भूपू विद्यार्थीहरुले उल्लेख्य सहयोग पुर्याएको प्रधानाध्यापक पाख्रिनले बताउनुभयो ।

लोकप्रिय गायिक मेलिना राईको सांगीतिक प्रस्तुति रहेको महोत्सव उद्घाटन समारोहमा संविधानसभा सदस्य मोहन टुडु, झापा क्षेत्र नं ३  का प्रदेशसभा सदस्य छविलाल चूडाल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनलगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

यस हल्दिवारी माविमा हाल प्रारम्भिक बाल शिक्षादेखि कक्षा १२ सम्म साधारण धार तथा कक्षा ९–१२ प्राविधिक धार वाली विज्ञान सञ्चालित छ । हाल साधारण धारतर्फ कुल १२२० जना विद्यार्थी र प्राविधिक धारतर्फ १९६ जना विद्यार्थी गरी कूल १४१६ जना विद्यार्थीहरू अध्ययनरत छन् भने शिक्षक एवम् कर्मचारीसमेत गरी ५३ जना सेवारत रहेका छन् ।

विद्यालयको रुपमा विकास गर्न तथा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा नेतृत्वदायी भूमिका खेल्न सक्ने नमुना विद्यालयको आवश्यकता महसुस गरी विद्यालय क्षेत्र विकास योजना कार्यक्रम अन्तर्गत यो विद्यालय पनि नमुना विद्यालयको रुपमा छनौट हुन सफल पनि भएको छ । विद्यालयको स्वर्ण महोत्सव आजदेखि ७ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर