Aamsanchar

विवाह गर्न वडाको सिफारिस चाहिने

Author Image
बिहिवार, फागुन ४, २०७९

सल्यान –सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए। यो व्यवस्था गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ।

उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेश गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए। ‘बालविवाह रोक्न हामीले जनचेतना अभिवृद्धिलगायतका थुप्रै कार्यक्रम सञ्चालन गरे पनि रोक्न सकेनौँ । १५-१६ वर्षको उमेरमा बिहे गर्ने क्रम घटेन’, उनले भने।

उनले भने, ‘हाम्रो पालिकामा गर्भवती महिलाको अवस्थाका बारेमा बुझ्दा १२० जना गर्भवती पहिलो गर्भ परीक्षण गराउन आएकोमा ३५ जना २० वर्षमुनिका रहेको पाइयो। यस गाउँपालिकामा बालविवाहको अवस्था कस्तो छ भनेर यसले बताउँछ।’

बालविवाह हुनुमा मुख्य भूमिका अभिभावकको हुने भएकाले बालविवाह अस्वीकार गर्ने अभिभावकलाई सम्मान गर्ने पालिकाको योजना रहेको उनको भनाइ छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले यसै वर्षदेखि बालविवाह मुक्त विद्यालय अभियान सञ्चालन गर्न लागिएको बताए। विद्यालय उमेरका केटाकेटीको भागेर विवाह गर्ने चलन रोक्न विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने बताउँदै उनले भने, ‘बालविवाह गर्ने गराउनेलाई कानुनअनुसारको कारबाही छँदै छ। बालविवाह गर्नेका अभिभावकलाई कालोसूचीमा राखेर पालिका र वडा कार्यालयबाट हुने सिफारिस र पञ्जीकरणमा दोब्बर शुल्क लिन्छौं।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 382

प्रतिक्रिया (०)