Aamsanchar

बैङ्क विरुद्ध सडक सङ्घर्षमा उत्रिए उद्योगी वयवसायी, केन्द्रीय बैङ्क घेराउ

Author Image
मङ्गलवार, फागुन ३०, २०७९

काठमाडौँ । देशभरका उद्योग व्यवसायीहरूले बैंकविरुद्ध सडक सङ्घर्ष चर्काएका छन् । विकराल आर्थिक स्थितिका बाबजुद पनि बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज असुलेको, कर्जामा ठुलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै व्यवसायीहरू बैङ्क विरुद्ध सडक सङ्घर्षमा उत्रिएका हुन् ।

केही समय यता चरणबद्ध सडक आन्दोलनमा रहेका व्यवसायीहरूले मंगलबार केन्द्रीय बैङ्क घेराउ गरेका छन् । बालुवाटार स्थित नेपाल राष्ट्र बैङ्क पुगेका व्यवसायीहरूले व्यवसायीहरूको पीडा महसुस गर्न केन्द्रीय बैङ्कको ध्यानाकर्षण गरिरहेका छन् ।

विगत एक वर्षदेखि व्यवसायीहरू बैङ्कको ज्यादतीविरुद्ध आन्दोलनमा रहे पनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रीय बैङ्क नै घेर्न आउनुपरेको मोरङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।

देशभरबाट ७० भन्दा बढी जिल्लाका उद्योग व्यवसायी, मजदुरहरू बैङ्क विरुद्धको आन्दोलनमा बालुवाटारमा जम्मा भएको उनको भनाइ छ ।

केही अगाडि नेपाल उद्योगवाणिज्य संघ र झापा जिल्लाका व्यवसायीहरूले जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षण गराउँदै ।  

नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासङ्घहरूसँग आबद्ध भएका नभएका देशभर वस्तुगतसँगहरु आन्दोलनमा होमिएको उनको भनाइ छ । यातायात व्यवसायी सङ्घ, महासङ्घ, अटो व्यवसायी, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, पर्यटन व्यवसायीहरू नाट्टाका प्रतिनिधि समेतको १२५ व्यवसायी सङ्घ/सङ्गठनहरू आन्दोलनमा सहभागी भएको उनले जानकारी दिए ।

उसो त उद्योग, व्यवसायीहरू बैङ्क विरुद्ध राष्ट्र बैंकमा आन्दोलन चर्काउँदै गर्दा यता सर्वसाधारण ऋणीहरुले माइतीघर मण्डलामा ¥यालीमार्फत लघुवित्त वित्तीय संस्थाहरूको दर्ता खारेजीको माग गरिरहेका छन् ।

लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समिति नेपालको संयोजकत्वमा मंगलबार देशभरबाट राजधानी उत्रिएका सर्वसाधारणले लघुवित्त संस्था विरुद्ध नारा लगाइरहेका छन् । गाउँ गाउँमा लघुवित्त संस्थाहरूको ज्यादती विरुद्ध सरकारको ध्यानाकर्षण गर्न राजधानी आएको लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले बताए ।

ग्रामीण निमुखा गरिब किसानलाई चर्को ब्याजमा ऋणको भारी बोकाई वित्तीय अपराध गर्ने लघुवित्तहरूको दर्ता नै खारेज गर्नुपर्ने माग उनीहरुले लगाइरहेका छन् । लघुवित्त संस्थाहरुद्धारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रवाह गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने आन्दोलनरत पक्षको माग रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर