Aamsanchar

सुरुङ्गा खानेपानी संस्थाको निर्वाचनमा ठूला दल बने लज्जित, अध्यक्षमा स्वतन्त्रका अधिकारी विजयी

Author Image
आइतवार, चैत १९, २०७९

झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा भएको सुरुङ्गा खानेपानी संस्थाको निर्वाचनको मत परिणामले दलिय व्यवस्थालाई ठाडो चुनौती दिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, नेकपा समाजबादी र राप्रपा जस्ता ठुलापार्टीबाट अनुमोदिन उम्मेदवारलाई विना दलका स्वतन्त्र उम्मेदवारले पराजित गरे । कतिपयले यो मत परिणामले दलिय व्यवस्थालाई खुल्ला चुनौती दिएको बताए् ।

झापामा हुने सामाजिक संघ संस्थाको निर्वाचनमा यस्तो मतपरिणाम संभवत पहिलो पटक सार्वजनिक भएको हो । पाँचदलले अनुमोदन गरेका प्रेमप्रसाद चुडाल नेपाली कांग्रेसका क्षेत्रिय स्तरका नेता हुन् । यस अघि उनि नेपाली कांग्रेसक क्षेत्र नम्बर ४ सचिव पदमा थिए । स्थानिय एक सहकारी संस्थाको अध्यक्ष समेत रहेका पोख्रेल कनकाई क्याम्पस सुरुङ्गाको व्यवस्थापन समितिको अध्यक्ष हुन् भने चुडाल बन्धुका केन्द्रिय महासचिव हुन् ।

निर्वाचन समितिका अनुसार चुडालले ५ दलको सहायतामा ११३७ मत पाएका थिए । उनलाई उछिन्ने स्वतन्त्र उम्मेदवार भीम प्रसाद अधिकारीले १२९० मत ल्याएर विजयी भए । उनिहरु दुई उम्मेदवार विच १५३ मतको फरक छ । अधिकारी कुनैपनि राजनीतिक दलमा आवद्ध छैनन् ।

२०३६ साल यता उनि एमालेको संगठित सदस्य थिए । पछि विवेकशिल साझा पार्टीको केन्द्रिय समितिमा थिए । राजनीतिक दलका नेताले राजनीतिलाई गरिखाने भाँडो बनाएर मुलुकको अर्थतन्त्र धरासायी बनाउन थालेपछि उनले पार्टी परित्याग गरि स्वतन्त्र नागरिकका रुपमा उभिएका थिए ।

आगामी तीन वर्षका लागि सुरुङ्गा खानेपानी संस्थाको अध्यक्ष पदका लागि निर्वाचित अधिकारी साविकको सुरुङ्गा गाँउ विकास समितिको २ पटक अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यस पछि सामाजिक क्षेत्रमा सक्रिय थिए । अधिकारी खानेपानीको अध्यक्ष पदमा दोश्रो पटक बिजयी भएका हुन् । यस अघि पनि उनि खानेपानीको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

दुईपटक सम्म साविकको सुरुङ्गा गाविस र एक पटक खानेपानीको नेतृत्व लिएका अधिकारी पारदर्शी, सुशासन र इमान्दार नेतृत्वकर्ताका रुपमा पचिरिच छन् । स्थानियले अधिकारीको जीतको मुख्य आधार उनको भ्रष्टाचारमुक्त छबि र एक कुशल योजनाकार व्यक्तित्वलाई मतदान गरेर अनुमोदन गरेका छन् ।

स्थानियले यो मतपरिणामलाई अचम्म मान्दै भनेको छन्, ‘राजनीतिक दलले सबै ठाँउ र अवसर गैरराजनीतिक व्यक्तिलाई दिनुहुन्न भन्ने घमन्डको पराकाष्ठा हो यो मतपरिणाम ।’ सुरुङ्गा झापाको कनकाई नगरमा पर्छ । नेपाली कांग्रेसका झापा सभापती देउकुमार थेवेको गृह नगर सुरुङ्गामा थेलेले आफु निकटका व्यक्ति चुडाललाई उम्मेदारी सिफारिस गरेका थिए । उनको सिफारिसमा एमाले, राप्रपा, नेकपा समाजवादी र माओवादीले ताली बजाएर समर्थन गर्दे चुनावी मैदानमा पठाएको थियो । पाँचदलले चुडाललाई खानेपानीको चुनावी मैदानमा धकेलिदिएर बलीको बोको बनाएको कतिपय उपभोक्ताले आरोप लगाए ।

सामाजिक संघ संस्थामा नेतृत्व गरिरहेका चुडालले पछिल्लो पटक खानेपानीको नेतृत्व लिनका लागि हदै सम्मको कसरत गरेका थिए । तर, उनि चुनावी परिक्षामा असफल भए ।

कनकाई नगरमा आर्थिक कारोवार हुने अधिकांस सामाजिक संघ संस्थाको नेतृत्वका लागि राजनीतिक दलले भाग बन्डामा पद लिने दिने गरेका छन् । सामुदायिक विद्यालय, सामुदायिक बन, क्याम्पस, खानेपानी, बजार बिकास, उद्योग वाणिज्य जस्ता संघ संस्थाको नेतृत्वका लागि दलले तछाड मछाड गर्ने गरेका छन् । त्यसैको बदला लिन खानेपानीका उपभोक्ताले यस पटक राजनीतिक दलको योजना विफल बनाईदिएका हुन् । नयाँ पार्टीका मान्छे कार्यसमितिमा चयनकालागी गृहकार्य शुरु गरिहाल्छन । स्थानिय अर्जुन बुढाथोकीले भने, ‘कुन संस्था कुन दललाई दिने भनेर सुरुङ्गामा बहस हुने गरेको छ । राजनीतिक दलको विर्ता हो सुरुङ्गा ?’

उपाध्यक्ष पदमा पाँचदलका तर्फबाट उम्मेद्वार बनेका एमालेका राजेन्द्र उप्रेतीले १ हजार १ सय ६३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र तर्फका तिलचन्द्र उप्रेतीले १ हजार १ सय २२ मत प्राप्त गरेका छन् । दुवैजना उम्मेद्वारको अन्तर भने ४१ मतको रहेको छ ।

सचिव पदमा समेत राजनीतिक दलका तर्फबाट उम्मेद्वार बनेका गोविन्दप्रसाद पौडेलले १ हजार २ सय ३ मत प्राप्त गरी विजय बनेका छन भने उनका प्रतिस्पर्धी कृष्णप्रसाद चुडालले १ हजार १ सय ५ मत ल्याएका छन् । सचिवका उम्मेद्वार बीचको मतअन्तर ९८ छ ।

कोषाध्यक्षमा समेत राजनीतिक दल तर्फका उम्मेद्वार खेम कार्कीले १ हजार २ सय १५ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी धनवहादुर बोगटीले १ हजार ६२ मत प्राप्त गरे । उनिहरु विचको मतान्तर १५३ रहेको छ ।

यसै गरी सदस्यमा राजनीतिक दलको गठबन्धनबाट उम्मेद्वार बनेका सम्पुर्ण सदस्यहरु निर्वाचित बनेका छन् । यसरी निर्वाचित हुने सदस्यहरुमा क्रमशः गोपाल खरेल (१२५३), लक्ष्मीप्रसाद ओडारी (१२२६) र भरतकुमार श्रेष्ठ (११८९) तथा महिला सदस्यहरुमा शोभा प्रसाईँ खरेल(१२९०) र हरिमाया राई (१११२ ) मत प्राप्त गरी निर्वाचित भएका छन् ।

सुरुङ्गा खानेपानीमा ४ हजार १ सय २८ मतदाता रहेकोमा २ हजार ६ सय १४ मत खसेको थियो । निर्वाचन सम्पन्न गर्न जनार्दन उप्रेती संयोजक, सोमनाथ उप्रेती र अम्बिकाचापागाईं (सुवेदी) सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिको समन्वयमा शान्तीपुर्ण रुपमा निर्वाचन सम्पन्न भइ मतगणना समेत सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 546

प्रतिक्रिया (०)

सम्बन्धित खबर