झापा । नक्कली कागजपत्र, ३ वटा मोटरसाइकल सहित १ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो बुधबार झापा अर्जुनधारा नगरपालिका वडा नं.३ खुदुनाबारीमा हल्दीबारी गाउँपालिका वडा नं.१ बस्ने वर्ष ४४ को जगत बहादुर लिम्बुलाई प्रहरीले नक्कली ब्लुबुक बनाई मोटरसाइकलहरू बिक्री बितरण गरी रहेको भन्ने सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।
खुदुनाबारी प्रहरी कार्यालयको टोलीले लिम्बुलाई नियन्त्रणमा लिएर नक्कली कागजात, मोटरसाइकलहरु र निज व्यक्तिलाई इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको छ ।
लिम्बू सँग रहेको बाग्मती प्रदेश ०२–०३८ प ३१६३ र बागमती प्रदेश ०२–०३६ प १६५३ नम्बरको दुईवटा डुक मोटरसाइकल त्यसैगरी बाग्मती प्रदेश ०२–०३५ प १६६६ नम्बरको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
न्यु धनुषा ट्रेडर्सको पान बिल ८ थान, सोही कम्पनीको स्टाम्प प्याड, न्यु धनुषा ट्रेडर्सको खरिद बिक्री सम्झौता पत्र, जगत बहादुर लिम्बू र कुमार शाक्यको नामको जग्गा खरिद बिक्रीको सम्झौता पत्र पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।