Aamsanchar

हात्तीका कारण बाहुनडाँगीलाई चोट लाग्दा बानेश्वरलाई दुख्नुपर्छ : सांसद शर्मा

Author Image
शुक्रवार, वैशाख १५, २०८०

झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद विश्वप्रकाश शर्माले झापाको बाहुनडाँगीमा हात्ती आतंक भएकोले नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले भने, ‘हात्तीपीडित नागरिकको आग्रह छ, बाहुनडाँगीलाई चोट लाग्दा बानेश्वरलाई दुख्नुपर्छ। जनताको यो गम्भीर पीडाप्रति विशेष गम्भीरताका साथ सरकारले दीर्घकालीन हल खोज्नुपर्छ।’

झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ५ खारखोला शोकमग्न रहेको पनि शर्माले बताए। त्यहाँका ७० वर्षीय भीमलाल भट्टराई हात्तीको आक्रमणबाट मारिएका थिए। एक वर्षमा यो वडामा मात्र हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु भएको उनले बताए।

उनले खुला सीमा भएकोले भारतको पश्चिम बंगालबाट हुलका हुल हात्ती आउने र स्थानीय जंगलका रैथाने हात्तीले दुस्ख दिने गरेको बताए।

‘सुशील कोइराला प्रधानमन्त्री रहनुभएको सरकारले विश्व बैंकको लगानीमा एनटिएनसीसँगको समन्वयमा मेचीनदी किनारमा १८ किमी लामो सोलार फेन्सिङ निर्माण भयो। केही वर्ष जनजीवन सुरक्षित भयो, जनताले बाली भित्र्याउन पाए। केही वर्ष त्यसबाट काम भयो, तर अब त्यसले नधान्ने भयो,’ शर्माले भने।

उनले सीमापारिबाट हात्ती प्रवेश गर्ने मेची नदीको किनारमा तटबन्ध निर्माणमा बजेट छुट्याउन पनि सरकारसँग आग्रह गरेका छन्। श्रोत:सेतोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)