Aamsanchar

कांग्रेस महामन्त्री थापाले भने : सभापतिले पार्टी जोगाउनका लागि विकल्प दिनुपर्छ

Author Image
मङ्गलवार, जेठ ३०, २०८०

मोरङ – कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले पार्टी जोगाउनका लागि विकल्प दिनुपर्ने बताएका छन् । विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा मंगलबार महामन्त्री थापाले सभापति देउवाले पार्टीका लागि गरेको योगदानको कदर गर्दै पार्टी जोगाउनका लागि विकल्प दिनुपर्ने बताएका हुन् ।

‘सभापति देउवा ज्यूसँग न त कुनै आग्रह छ न त पूर्वाग्रह छ तर अहिलेको समयमा कांग्रेसका आम कार्यकर्ता, शुभेच्छुक र समर्थकको चाहना र देशको आवश्यकता अनुसार सभापतिले जति छिटो नेतृत्वबाट हट्नु हुन्छ त्यति धेरै उहाँ र पार्टीको हितमा हुन्छ भन्ने छ,’ महामन्त्री थापाले भने, ‘उहाँले अब पनि आफूले पार्टीको नेतृत्व नगरे पार्टी रहँदैन भन्ने मानसिकता त्याग्नुपर्छ । उहाँले पार्टीका लागि गरेको योगदानको हामीले कदर गर्छौं र जीवनपर्यन्त सम्झिरहन्छौं तर पार्टीको हितका लागि नेतृत्व छाड्नुपर्छ ।’

अहिलेको संसद्को ५ वर्षे कार्यकालमा कांग्रेसको नेतृत्वमा एकपटक सरकार बन्छ तर त्यति बेला देशको प्रधानमन्त्रीका लागि पनि सभापति देउवाले विकल्प दिनुपर्ने थापाको भनाइ थियो ।

‘सभापतिज्यूले प्रधानमन्त्रीको रुपमा ५/६ पटक काम गरिसक्नुभएकाले उहाँले देश र जनताका लागि कामको सम्मान गर्दै अब देशले कांग्रेसबाट कुनैपनि नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेको छ,’ उनले भने, ‘त्यसैले सभापति देउवालाई पार्टीको नेतृत्व र देशको प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गरिदिन आग्रह छ जुन सभापति र पार्टी दुवैको हितमा हुन्छ ।’ पार्टीलाई आवश्यक भएको नयाँ नेतृत्वका लागि आफूले प्रयत्न गरिरहेको र त्यसमा कुनै किसिमको नाफा र घाटाको हिसाब नगर्ने थापाको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)