Aamsanchar

पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका निरजले पाए प्रशासन कार्यालय मोरङबाट नागरिकता

Author Image
सोमवार, असार ११, २०८०

विराटनगर : नागरिकता माग्दै आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका–४ का निरजकुमार कामतले सोमबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङबाट उनले वंशजको आधारमा नागरिकता पाएका हुन्। निरजको नाममा जारी भएको ०५–०१–८०–०३९४१ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उनलाई प्रदान गरे। नागरिकता हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरू शरदकुमार पोखरेल र प्रदीप साह उपस्थित थिए।

नागरिकता लिन बुवा किसुनदेव कामतलाई लिएर निरज प्रशासन पुगेका थिए। आवश्यक कागजात पेस गरेपछि प्रक्रिया पूरा गरेर उनलाई नागरिकता दिइएको प्रजिअ यादवले बताए।

नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा भएको आन्दोलनका क्रममा निरजले गत जेठ ३० गते शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएपछि त्यसको विरोधमा नागरिकता पीडित संघर्ष समितिले निरन्तर आन्दोलन एवं प्रदर्शन गरेको थियो। त्यस क्रममा आत्मदाहको प्रयास गरेका निरज संघर्ष समितिका उपाध्यक्ष हुन्।

जन्मसिद्ध नागरिकता सन्तान नागरिकताविहीन भएर बन्नुपर्ने अवस्था आएपछि आफूले आत्मदाहको प्रयास गरेको उनले बताए। नागरिकता प्राप्त गरेपछि खुसी देखिएका उनले आफूहरूले नागरिकताका लागि ४ वर्षदेखि संघर्ष गर्नु परेको सुनाए। ‘हामीले नेपाली नागरिक बन्न लामो संघर्ष गर्नुपर्‍यो। जन्मसिद्धका सन्तानमाथि राज्यबाट ठूलो विभेद भयो,’ उनले भने, ‘अब नेपाली नागरिकको हैसियत प्राप्त भएको छ। यही मुलुकको नागरिक हुँ भनेर निर्धक्कसँग भन्नसक्ने अवस्थामा पुगें।’

नेपालमै जन्मिएर हुर्किएपनि राज्यले आफूहरूलाई अनागरिकको दर्जामा राखेको बताउँदै निरजले नागरिकताका लागि लडाइँ लडेको, राजनीतिक दल, गृह मन्त्रालय र विभिन्न निकायमा पटकपटक ज्ञापनपत्र बुझाएको सम्झिए। भने, ‘नागरिकता माग्दा राज्य संवेदनशील नभएकै कारण न्याय मरिसकेको देश होभन्ने सोचेर आत्मदाह गर्नेसम्मको अवस्थामा पुग्नुपर्‍यो।’

उनले नागरिकता नपाएकै कारण आफूले बीबीएस तेस्रो वर्षमा अध्ययन गर्दागर्दै पढाइ छाड्नु परेको सुनाए।
‘सबै काम गर्दा नागरिकताको आवश्यकता पर्न थाल्यो। मसँग थिएन। पढेर मात्रै काम रहेनछ भन्यो लाग्यो। २०७६ सालमा पढाइ छाडेर नागरिकता प्राप्तिको आन्दोलनमा होमिएँ,’ निरज भन्छन्, ‘मलाई प्रहरीमा जागिर खाने इच्छा थियो। तर, नागरिकता नभएपछि पार लागेन। बल्ल म मुलुकको नागरिक भएँ। अब प्रहरी बन्ने उमेर नै गइसक्यो।’
उनले नागरिकता नहुँदा पढाइलाई निरन्तरता दिन, आफ्नो नाममा बैंक खाता खोल्न, सवारीसाधन खरिद गर्न, लाइसेन्स (सवारी चालक अनुमतिपत्र) बनाउन, जागिर खान, वैदेशिक रोजगारीमा जानदेखि लिएर व्यक्तिगत वृत्तिविकासमा ठूलो असर परेको गुनासो पोखे। लामो समयदेखि नागरिकताविहीन बन्नु पर्दा अनेक समस्या झेल्नु परेको उनले सुनाए।

निरजका अनुसार हजुरबुवाले जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका थिए। हजुरआमाको वंशजकै नागरिकता थियो। ‘हजुरबुवा र हजुरआमाको नागरिकताका आधारमा बुवाको वंशजको नागरिकता बन्नुपर्ने थियो। तर, प्रशासनका कर्मचारीले जन्मसिद्धको बनाइदिएछन्,’ उनले भने, ‘मेरो बुवाको पढाइलेखाइ छैन। कुन नागरिकता हो भनेर छुट्याउन सक्नु भएनछ।’

आमा गुलावदेवी चौधरीको भने वंशजकै नागरिकता छ। उनका बुवा किसुनदेव राजमिस्त्री हुन्। ‘हाम्रो पारिवारिक आर्थिक अवस्था अति नै कमजोर छ,’ उनले भने, ‘त्यहाँमाथि बुवा पढेलेखेको हुनुहुन्न।’ निरजका १८ वर्षकी बहिनी र १२ वर्षका भाइ छन्। ‘भाइको उमेर पुगेको छैन,’ उनले भने, ‘अब बहिनीलाई नागरिकता दिलाउन पहल गर्छु।’
जन्मसिद्धका सन्तानलाई मोरङ प्रशासनले सोमबारदेखि वंशजको नागरिकता दिन थालेको हो। उर्लाबारी र रंगेलीस्थित इलाका प्रशासनले पनि वितरण सुरु गरेका छन्।

मोरङका प्रजिअ यादवले कानुन अनुसारको प्रक्रिया पूरा गरेर आउने जन्मसिद्धका सन्तानलाई नागरिकता दिन थालिएको बताए। ‘नागरिकता लिन लाइनमा बसेकाहरूको मनमा अनेक शंका उपशंका देखिन्छ। उनीहरू आत्तिएजस्तो देखिन्छन्। तत्कालै नलिएमा नागरिकता नपाइने पो हो कि भन्ने पनि उनीहरूमा परेको छ,’ यादवले भने, ‘तर, अब कुनै असहजता नहुने भएकाले आत्तिन पर्दैन। प्रक्रिया पुर्‍याएर आउनेलाई नागरिकता प्रदान गरिन्छ। सबै काम कानुन बमोजिम हुन्छ।’

नागरिकताका लागि बिहानैदेखि जिल्ला प्रशासन कार्यालय अगाडि लाम लागिरहेको छ। जन्मसिद्धका सन्तानलाई नागरिकता दिनका लागि प्रशासनले छुट्टै कोठाको व्यवस्था गरेको छ।

सहायक प्रजिअ शरदकुमार पोखरेलका अनुसार धेरै आवेदन पर्ने सम्भावनालाई मध्यनजर गर्दै ३ जना कर्मचारी खटाएर नागरिकताका लागि छुट्टै कोठाको व्यवस्था गरिएको हो। ‘२०६३ सालको वितरण टोलीबाट मोरङमा ३५ हजार जनाजतिले जन्मका आधारमा नागरिकता लिएको देखिन्छ,’ उनले भने, ‘त्यसका आधारमा अब वंशजको नागरिकताका लागि ८० हजार हाराहारीमा आवेदन पर्नसक्ने अनुमान छ।’

यसअघि पनि प्रशासनले प्रतिलिपिसहित दैनिक १ सय ५० वटाभन्दा बढी नागरिकता जारी गर्दै आएको थियो। भीडभाड बढेको र सीमित जनशक्ति रहेका कारण नागरिकता वितरणमा टोकन प्रणाली लागू गरिएको पोखरेलले बताए। उनका अनुसार पहिलो दिन जन्मसिद्धका सन्तान ४० जनालाई नागरिकता दिइएको छ। ५ सय जनाभन्दा बढीको आवेदन परेको उनले बताए।

‘भीडभाड बढेपनि नागरिकता वितरण शान्तिपूर्ण छ। परेका आवेदनहरू अध्ययन गरेर नागरिकता दिने काम सुरु भएको छ,’ पोखरेल भन्छन्। उनका अनुसार जन्मसिद्धका सन्तानमध्ये विराटनगर महानगरपालिका–९ का रोहित जाजूले पहिलो नागरिकता प्राप्त गरेका छन्।

मोरङ प्रशासनमा प्रजिअसहित ४० जनाको दरबन्दी छ। २ जना अधिकृतसहित ४ जनाको दरबन्दी रिक्त छ। भीडभाडले सेवा प्रवाहमा समस्या उत्पन्न हुनसक्ने देखिएपछि गृह मन्त्रालयमा कर्मचारी थपका लागि आग्रह गरिसकिएको प्रजिअ यादव बताउँछन्। तर, केही प्रतिक्रिया नआएकाले हाले भएका कर्मचारीबाटै काम सुरु गरिएको उनी बताउँछन्।

नागरिकता पाउन यस्तो छ प्रक्रिया
जन्मका आधारमा नागरिकता लिनेका सन्तानले वंशजको नागरिकता लिन अलि झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। प्रावधान अनुसार बुबा–आमाको नागरिकता, वडाको सिफारिस, बसाइँ सरी आएको भएमा बसाइँसराई दर्ता प्रमाण, स्थानीय बसोबास प्रमाणित पारिवारिक विवरण, व्यक्तिको जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र र नाबालक परिचयपत्र अनिवार्य छ।

त्यस्तै, बुवा–आमा र सन्तानबीचको फोटोसहितको सक्कल नाता प्रमाणित, बाबु र आमाको विवाह दर्ताको प्रमाणपत्र, बाबुआमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, कुनै पेसा वा व्यवसाय गरी बसेको भए सोको प्रमाण, जग्गाधनी प्रमाणपूर्जा वा स्थायी बसोबास सिफारिस वा व्यवसाय दर्ता प्रमाणपत्र, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा र स्वघोषण पनि आवश्यक भनिएको छ।

Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर