काठमाडौँ – नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर लेखेपनि कानुन बनाउने क्रममा भने धर्मनिरपेक्ष ढंगको नभएको बताइन् । सांसद राइले लिम्बूको संस्कृति मनाउनका लागि गोरुको हड्डी चढाउनुपर्ने परम्परा रहेको बताउँदै त्यस्ता संस्कृति मनाउनेहरूका लागि गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गरिन् । उनले राज्यको कुनै धर्म नहुने बताउँदै नेपालको राष्ट्रिय जनावर नै परिवर्तन गर्नपनि माग गरेकी छिन् ।