Aamsanchar

भाेजपुरका किसानको रोजाइमा चिराइतो

Author Image
शनिवार, भदौ २३, २०८०

भाेजपुर – परम्परागत बाली धान, आलु मकैभन्दा खेती गर्न सजिलो हुने भएपछि भोजपुरका किसान चिराइतो खेतीमा रमाउन थालेका छन् । खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि चिराइतो किसानको रोजाइमा परेको हो ।

चिराइतोबाट वर्षमा १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवन्द्र राउतले बताउनुभयो  । यस वर्ष करिब ६० मन (४० केजीको एक मन) चिराइतो उत्पादन हुने उहाँको भनाइ थियो ।

राउतले करिब ६२ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । ‘हाम्रो ठाउँका धेरै किसानले व्यावसायिक रुपमा चिराइतोको खेती गर्दै आएका छन्,’ उहाँले भन्नुभयो, ‘अन्य बालीको तुलनामा यसबाट आम्दानी पनि मनग्य हुने र खेती गर्न पनि सजिलो छ ।’

उहाँले यस वर्ष करिब ६० मन उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै बजार मूल्य राम्रो भएमा १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी हुने जानकारी दिनुभयो । यहाँ प्रति किसानले २० देखि ५० मन उत्पादन गर्ने राउतले बताउनुभयो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने उनीहरु बताउँछन् ।

गएका वर्षको तुलनामा पछिल्लो समय चिराइतोले राम्रो मूल्य पाउने गरेको स्थानीय कृषक प्रेमबहादुर बस्नेतले बताउनुभयो । ‘यसबाट राम्रो आम्दानी लिँदै आएको छु,’ उहाँले भन्नुभयो, ‘बर्सेनि मूल्यमा वृद्धि भइरहेको अवस्था छ । त्यही भएर पनि धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन् ।’

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने बस्नेतको भनाइ थियो । आलु, मकैबाट वार्षिक ५० हजार रुपैयाँ आम्दानी हुने गरेको बारीमा चिराइतो खेती गर्दा पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी लिन सकिने उहाँले जानकारी दिनुभयो ।

चिराइतो खेतीका लागि तालिम तथा आवश्यक ज्ञान पाएमा अझ प्रभावकारी हुने बस्नेतको भनाइ थियो । ‘हामीले पराम्परागत रुपमा खेती गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘यस खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोगमात्र पाएमा पनि अझ सहज हुने थियो ।’

किसानले चिराइतोलाई भदौ, असोज र कात्तिकमा सङ्कलन गर्दछन् । पछिल्लो समय यसको बजार मूल्य बढ्दै गएपछि धेरै किसान चिराइतो खेतीप्रति आकर्षित भएका कृषक गुणराज राउतले बताउनुभयो । ‘विगत लामो समयबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु,’ उहाँले भन्नुभयो, ‘मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ । एक पटक सङ्कलन गरेर बिक्री गरेपछि सानो बिरुवा उत्पादन योग्य हुन समय लाग्छ । त्यही भएर बर्सेनि आम्दानी लिन फरक÷फरक जमिनमा खेती गर्नुपर्ने हुन्छ ।’

ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि औषधिका रुपमा चिराइतो प्रयोग गर्न सकिने कृषक राउतको भनाइ छ । उहाँका अनुसार यसको पात, डाँठ, जरा लगायत सम्पूर्ण भाग प्रयोग गर्न सकिन्छ ।

यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाँउ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् ।

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका धेरैजसो मानिसले यसको खेती गरिरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर