वीरता लेडी जेसीजको सन् २०१७ को अध्यक्षको जिम्मेवारी सम्हँली रह“दा कस्तो महशुस भइरहेको छ ?
– वीरता लेडी जेसीजको सन् २०१७ को अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्न पाउँदा मलाई ज्यादै गौरवको अनुभूति भइरहेको छ । किनकी आफ्नो दायित्व र कर्तव्यलाई निःस्वार्थभावले पूरा गर्दै जाँदा एकदिन सफल भइन्छ र महिलाहरु पनि समाज रुपान्तरण गर्न अनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने मेरो चाहना पूरा भएकोमा खुसी नै लागेको छ ।
आफ्नो कार्यकाल उत्कृष्ट बनाउने योजना के छ ?
– मेरो लागि यो चुनौतिको काम पनि हो । साथीहरुले धेरै आश पनि गर्नुभएको छ । हाम्रा नियमित कार्यक्रमहरुका अतिरिक्त वर्ष २०१७ लाई उत्कृष्ट बनाउन सर्वप्रथम म जेसीजको मूलमन्त्र व्यक्तित्व र नेतृत्व विकास गराउनका लागि सदस्य मित्रहरुलाई उत्कृष्ट तालिमको व्यवस्थापन गर्नेछु ।
सामाजिक क्षेत्रमा जेसीहरु सदैव समर्पित छन् भन्ने देखाउन केही महत्वकांक्षी योजनाहरु तय गरेकी छु । म मेरो कार्यकालमा वीरता लेडी जेसीजलाई देशकै उत्कृष्ट जेसीज बनाउने प्रयत्नमा छु ।
जेसीज के हो ? तपाईंको बुझाई र बुझाउनु पर्दा ?
– जेसीज एउटा अन्तर्राष्ट्रिय संस्था हो । जहाँ १८ वर्षदेखि ४० वर्षसम्मका उर्जाशील युवाहरुको जमघट हुने गर्दछ । जसले आफ्नो व्यक्तित्व र नेतृत्वदायी शक्तिलाई पहिचान गरी कर्तव्यनिष्ठ र इमान्दार भई गाउँ, समाज र सिंगो राष्ट्रको नै नेतृत्वदायी भूमिका गर्न सक्छन् ।
त्यसमा पनि मेरो बुझाईमा भन्नुपर्दा हरेक मानिसमा केही न केही सीप र प्रतिभा हुन्छ नै त्यसलाई समय परिवेश र सुयोग्य मानिसको संगत, प्रेरणा र अवसर मिल्यो भने उसले केही न केही महत्वपूर्ण काम गर्न अवश्य पनि सक्छ । त्यसकारण आफूभित्रको प्रतिभा प्रष्फुटन गरी व्यक्तित्व विकास र नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने सक्षम, निडर र असल नागरिक उत्पादन गर्नु नै जेसीजको मूल उद्देश्य हो भनेर मंैले बुझेको छु ।
जेसीजमा कहिलेबाट कसरी लाग्नुभयो ?
– जेसीजमा मेरो प्रवेश सन् २००८ मा भएको हो र जेसीजमा लाग्ने प्रेरणा चाहिँ जेसी राधा सुब्बा, जेसी कञ्चना सिटौला र संस्थापक दिदी शारदा रिजालबाट मिलेको हो ।
जेसीजमा लागेर के पाउनुभयो ?
– के पाए के पाइन् भन्नुभन्दा पनि मैले जेसीजबाट धेरै चीज पाएँ जस्तो लाग्छ । आज म हिंडिरहेको समाजमा मेरो परिचय नै जेसीजबाट प्राप्त भएको हो । विभिन्न व्यक्ति, व्यक्तित्वसँगको परिचय, विभिन्न संघ–संस्थाहरुको नेतृत्वदायी पंक्तिमा बसेर काम गर्नसक्ने आत्मबल, सकारात्मक सोचको विकास, समयको सदुपयोग गर्दै हरेक कामको व्यवस्थापन गर्दै एउटै व्यक्तिले पनि धेरै काम गर्न सक्दोरहेछ भन्ने जस्ता गुणहरु मैंले जेसीजबाट पाएकी छु ।
जेसीज संस्था उद्देश्यभन्दा प्रचारमुखी काम मात्र गर्छ भन्ने आलोचना पनि सुनिन्छ नि ?
– मलाई त त्यस्तो लाग्दैन । जेसीजले आफ्नो विधानमा रहेको लक्ष्य उद्देश्य प्राप्तिका लागि सांगठनिक रुपमा निःस्वार्थ भावनाले काम गरिहेको हुन्छ । आफूलाई प्रचारमुखी बनाऔंभन्दा पनि समाजमा केही गरेर देखाऔं, सबैमा सहयोगी भावनाको विकास गरौं भनेर जेसीज लागि रहेको छ ।
यसलाई कसरी प्रचारमुखी भन्ने ? यसर्थ मलाई त जेसीज प्रचारमुखीभन्दा पनि कार्यमुखी भएर काम गरिरहेको छ जस्तो लाग्छ । त्यसमा पनि आफू त सकारात्मक सोच राखेर अघि बढ्ने भएकोले आफूले स्वच्छभावले काम गर्ने हो त्यसमा कसैले आलोचना गर्छ भने त्यो उसको दृष्टिकोण हो त्यसमा मन दुखाउने कुरै भएन ।
जेसीजबाट समाज र मुलुकले के पाएको छ ?
– जेसीजबाट समाज र मुलुकले एक असल कर्तव्यनिष्ठ, आत्मविश्वासी, कर्मठ, समाज र मुलुकको नेतृत्व गरेर अगाडि बढ्न सक्ने नीति, नियमलाई पालन गरेर बन्धुत्वको भावना निर्माण गर्नसक्ने कुशल नागरिक पाएको छ । आफूले पाएको जिम्मेवारीबाट कहिले विचलित नहुने आत्मबल र संस्कार पाएको छ ।
कुनै पनि काम निःस्वार्थ भावनाले गरिनुपर्छ । पद, प्रतिष्ठा भन्ने कुरा कसैको निजी हुँदैन । काम गर्ने जोश, शक्ति र क्षमता हरेक व्यक्तिमा हुन्छ । उसलाई काम गर्ने अवसर दिनुपर्छ भनेर एक व्यक्ति, एक पद र एक कार्यकालको नीति जेसीजले अघि सारेर हरेक संघ–संस्था समाज र राष्ट्रलाई सबै ठाउँमा सबैको पहुँच पुग्नुपर्छ भन्ने सन्देश पनि दिइरहेको छ ।
जेसीज अभियानको प्राथमिकता के हुनुपर्छ ?
– मेरो बुझाइमा जेसीज अभियानको प्राथमिकता भनेको समाजका हरेक युवा शक्तिहरुमा सकारात्मक सोचको विकास गरी आफ्नो सीप र क्षमताको पहिचान गर्नुपर्छ । समाज रुपान्तरणमा खेल्नुपर्ने भूमिकाको बोध गराउन विभिन्न तालिम, गोष्ठीहरुको सञ्चालन गरेर हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न उत्प्रेरित गर्नुपर्छ जस्तो लाग्छ ।
तपाईं एक गृहिणी अनि व्यवसायी पनि त्यसमाथि लेडी जेसीजको अध्यक्षको जिम्मेवारी थपिएको छ, समय कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
– पक्कै पनि हामी महिलाहरुलाई सामाजिक क्षेत्रमा काम गर्न त्यति सहज हुँनै । तर, पनि जब भित्रैबाट केही गरौ भन्ने इच्छाशक्ति जागेर आयो भने यी सबै कुराको तालमेल मिल्दै जाँदो रहेछ । म पनि एउटी गृहिणी घरमा ८४ वर्ष लाग्नुभएकी बुढी सासुआमा हुनुहुन्छ ।
पढाइको सिलसिलामा ठूलो छोरा दिल्ली र माइलो छोरा काठमाडौं अनि कान्छो छोरा बाल्मिकीमा कक्षा १२ मा पढ्दैछ । श्रीमान् सहकारी संस्थामा काम गर्नुहुन्छ । हामीले व्यवसाय पनि सञ्चालन गरेका छौं । घरको काम, व्यवसाय सञ्चालन अनि विभिन्न कार्यक्रमहरुको आयोजना र दायित्व यी सबैकुराका बीच तालमेल मिलाएर काम गर्न कति गाह्रो होला यो चुनौति नै हो । त्यसमा पनि श्रीमान् आफैं सामाजिक तथा धार्मिक संघ–संस्थामा आबद्ध भई समर्पित हुनुहुन्छ ।
महिलाहरु अगाडि बढाउन पहिलो सहयोग घरकै हुन्छ ।
श्रीमान्ले मलाई भरपुर साथ सहयोग दिनुभएको छ । घरदेखि बाहिरसम्मका गर्नुपर्ने कामहरु हामी मिलेर गर्छौ । आफ्ना साथीहरु, अग्रज दिदीहरु, धेरैले मलाई साथ दिइरहनु भएको छ । कान्छो छोराले बिहान कलेजबाट आएपछि पसलमा पूर्ण सहयोग गरेको छ । आमाले पनि घर रुँघेर सकेको केही काम समेत गरेर सहयोग गरेको कारण समय र कार्यको व्यवस्थापन गरेकी छु । जेसीजबाट पाएको जिम्मेवारी र अन्य संघ–संस्थाहरुबाट पाएको अवसरलाई अलिकति पनि आँच आउन नदिइकन अगाडि बढिरहेकी छु ।