Aamsanchar

कोशी राजमार्ग सञ्चालनमा

Author Image
मङ्गलवार, असार २५, २०८१

धनकुटा – अविरल वर्षाका कारण सडकका ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको कोशी राजमार्ग सञ्चालनमा आएको छ।

कोशी राजमार्गअन्तर्गत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदी र घण्टेमा बाढीले र पहिरो खसेर अवरुद्ध भएको राजमार्ग ६ घण्टापछि सञ्चालनमा आएको हो।

फेदीस्थित गर्जुवा खोलामा माटोको लेदोसहित आएको बाढीले सडक पुरिएपछि मंगलवार विहानदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजबाबु महर्जनले बताए।

राजमार्ग अवरुद्धसँगै अड्किएका कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम हिँडेका सवारीसाधन सडक सञ्चालनमा आएसँगै गन्तव्यतिर लागेका छन्।

सडकमाथि थुप्रिएको माटोसहितको लेदो स्काभेटरले पन्छाएर सडक सञ्चालनमा ल्याइएको महर्जनले बताए।

वर्षा केही घटेसँगै खोलामा बालुवा र माटोको लेदोसहितको बाढी आउन कम भएकाले सडक खोल्न सहज भएको हो। गर्जुवा खोलामा हरेक वर्ष वर्षातको समयमा सडक अवरुद्ध हुने गरेको छ।

लगातारको वर्षाको कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। रुद्रबारी, गुठीटारलगायत दर्जनौँ स्थानमा पहिरो गएको छ।

पहिरोका कारण ती स्थानमा एकतर्फीमात्रै सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर