Aamsanchar

अवैध रुपमा ओमान पठाउने कार्यमा संलग्न तीन पक्राउ

Author Image
शुक्रवार, वैशाख १५, २०७४

काठमाडौं।

महिलाहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर भारतको दिल्ली हुँदै ओमान पठाउने कार्यमा संलग्न झापाका मेदनीप्रसाद प्रसाईंसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आर्थिक रुपमा विपन्न ग्रामीण महिलालाई दिल्ली हुँदै ओमान पठाउने कार्यमा संलग्न प्रसाईंसहित सिल्धुपाल्चोक शिपापोखरीका तोकबहादुर तामाङ र सिन्धुपाल्चोकका निमा तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।
प्रतिमहिला १ लाख ३० हजारसम्म लिएर नेपाली महिलाहरुको राहदानी र विवरण दलालमार्फत संकलन गर्ने सो समूहले राहदानी कुरियर गरेर भारतीय दलालको हातसम्म पु¥याउने गरेका थिए । नेपाली महिलाहरुलाई लिन नेपाल–भारत सीमा नाकामा भारतीय दलाल आउने र उनीहरुले दिल्ली एयरपोर्टबाट विभिन्न देश हुँदै ओमानसम्म लाने गरेको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । प्रहरीका अनुसार सरोज भन्ने तोकबहादुर तामाङले महिलाको राहदानी बनाउने तथा संकलन गरेर मेदनीप्रसाद प्रसाईलाई दिन्थे ।
त्यस्तै महिलाहरुलाई जम्मा गरेर काठमाडौंका विभिन्न होटलमा राख्ने र दिल्लीसम्म पठाउने जिम्मा पनि उनकै थियो । प्रसाईले महिलाहरुको राहदानी संकलन गरेर काठमाडौंबाट दिल्लीसम्म जाने टिकटको प्रवन्ध मिलाउँथे ।
त्यस्तै निमाले महिलाहरुको राहदानी तथा विवरण भारतीय दलालहरुलाई कुरियर गर्ने भूमिका खेल्दै आएका थिए । यसैबीच बुधवार काठमाडौंको गोंगवुस्थित मित्रनगरको एक गेष्ट हाउसमा राखेर दिल्ली पठाउने तयारी गरिरहेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उक्त गिरोहको चंगुलबाट दुई महिलालाई उद्धार गरेको थियो ।

उनीहरुले ग्रामीण विपन्न महिलाहरुलाई रोजगारको लागि ओमान जान प्रलोभन देखाएर काठमाडौंको विभिन्न होटलहरुमा जम्मा गर्दै दलालहरुको सहयोगमा विभिन्न सीमा–नाका हुँदै दिल्ली पठाउने गरेका थिए ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर