Aamsanchar

हेलिप्याड नहुँदा समस्या

Author Image
शुक्रवार, वैशाख २२, २०७४

तेह्रथुम,

सदरमुकाम म्याङलुङमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ । जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान नहुँदा समस्या हुने गरेको हो ।

म्याङलुङ्गमा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड सार्वजनिक रुपमै प्रयोग हुँदै आएको छ । तर सेनाको हेलिप्याड प्रयोग गर्न प्रक्रिया झन्झटिलो हुने तथा निरन्तरको उडानले आसपासका भौतिक संरचनामा क्षति समेत पु¥याउँछ ।

आफ्नो आन्तरिक प्रयोजनका लागि मात्रै निर्माण भएको हेलिप्याडमा निजी तथा व्यवसायिक हेलिकप्टरहरु अवतरण गर्न दिन नमिल्ने इन्द्र दल गुल्मका गुल्मपति महेश्वर कार्कीले बताउनुभयो । ‘जो कोहीलाई हेलिप्याड उपयोग गर्नै दिन मिल्दैन, उहाँले भन्नुभयोे, ‘तर यहाँ अर्को हेलिप्याड नहुँदा सार्वजनिक रुपमै प्रयोग गर्नैपर्ने बाध्यता छ, उचित ठाउँ खोजेर निर्माण गरे राम्रो हुनेथियो ।’ सार्वजनिक रुपमा प्रयोग गर्न सकिने गरी छुट्टै हेलिप्याड निर्माण गर्न म्याङलुङ्गा बासिन्दालाई उहाँले सुझाव समेत दिनुभएको छ ।

जिल्लामा एउटा पनि विमानस्थल छैन । हेलिकप्टर समेत अवतरण गर्नसक्ने उचित स्थान नहुँदा यात्रु तथा पर्यटकहरुले सास्ती बेहोर्नु परिरहेको छ । जिल्लामा विभिन्न समयमा जिल्ला बाहिरबाट हेलिकप्टर नै चार्टर गरेर घुम्न आउने, विरामी लिन तथा पु¥याउन र अन्य प्रयोजनका लागि मानिसहरु आउने गर्दछन् ।

तर त्यस्ता आगन्तुक मानिसहरुलाई सेनाको व्यारेक भित्रको हेलिप्याड प्रयोग गर्न समस्या हुन्छ । हेलिप्याड प्रयोगका लागि पहिल्यै अनुमति माग्नुपर्ने हुन्छ । निजी भ्रमणमा हेलिकप्टर आउँदा पटक पटक गुल्मसँग अनुमति मागेर अवतरण गराएको स्थानीय व्यापारी तारा श्रेष्ठले बताउनुभयो । यसरी पटक पटक समस्या झेल्नुपर्दा सार्वजनिक रुपमा प्रयोग गर्न पाउने गरी हेलिप्याड निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

बजार बिस्तार भएसँगै यहाँ अग्ला–अग्ला भवनहरु निर्माण हुनेक्रम बढ्दै जाँदा यसअघि प्रयोगमा रहेका खाली जग्गाहरुमा समेत अहिले हेलिकप्टर अवतरण गर्न नसकिने भएको म्याङलुङ्ग नगरपालिका–१ का टिका खुलालले बताउनुभयो । यस अघि जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको छकलीटार, स्थानीय टँुडीखेल नजिकै रहेको कबर्ड हल परिसर लगायत ठाउँमा समेत हेलिकप्टर अवतरण गर्ने गरिएको थियो ।

अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा कार्यालय प्रायोजनका लागि भवन बनेपछि छकलीटारमा हेलिकप्टर अवतरण गराउन नसकिने भएको छ । जिल्लाको अवश्यकतालाई मध्यनजर गर्दै सदरमुकामको बजार भएकाले बजार आसपासमै हेलिप्याड निर्माणको प्रयास भइरहेको स्थानीय नैन पयाङ्गोले बताउनुभयो ।

तर आवश्यक जग्गा व्यवस्थापन गर्न समस्या रहेको छ । जिल्ला सुरक्षा समिति र इन्द्र दल गुल्मको पहलमा बजार नजिकैको खुरखुट्टे ओडार आसपासमा हेलिप्याड निर्माणका लागि उपयुक्त हुने भन्दै छलफल सुरु गरिएको छ । सो सम्बन्धी सम्बन्धित मन्त्रालयमा जानकारी समेत गराएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । तर उपयुक्त हुने भनिएको सो जग्गा सार्वजनिक भएपनि यहाँका आदिवासी जनजातिहरुले समाधिस्थलको रुपमा प्रयोग गर्दै आएका छन् ।

हेलिप्याड निर्माणकालागि आवश्यक बजेट व्यवस्थापन भइसकेको भएपनि स्थानीयको अवरोधले निर्माण गर्ने प्रक्रिया अघि बढ्न नसकेको नेपाली सेनाको इन्द्र दल गुल्मका गुल्मपति कार्कीले बताउनुभयो । उहाँले यहाँको विकासकालागि नै आफुहरुले भनेको भन्दै पटक पटक छलफल समेत गरिसकेको बताउनुभयो ।

यता यहाँका आदिवासी लिम्बुहरुको संस्था किराँत याक्थुङ चुम्लुङका सचिव तेजमान कन्दङवाले भने समाधि स्थलको रुपमा प्रयोग भइरहेको ठाउँ हेलिप्याडका लागि प्रयोग गर्न नदिने बताउनुभयो ।

Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर