Aamsanchar

रवि लामिछानेको इन्कारी बयान : न्यायाधीश राईको इजलासमा सुनुवाइ जारी

Author Image
बिहिवार, पौष ११, २०८१

पोखरा । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको कुनै पनि आरोपलाई अस्वीकार गरेका छन्। सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति सुद्धीकरण जस्ता मुद्दामा अभियोग दायर भएपछि कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा लामिछानेको बयान आजबाट सुरु भएको हो।

स्रोतका अनुसार लामिछानेले सुनुवाइका क्रममा आफू निर्दोष रहेको दाबी गर्दै कुनै पनि गैरकानुनी कार्यमा संलग्न नभएको जिकिर गरेका छन्। उनी गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ। यसअघि, प्रतिवादी छविलाल जोशी र लिला पछाईँको बयान सकिएको थियो।

लामिछानेको बयान आज नसकिएकाले भोलि पनि जारी रहने बताइएको छ। प्रतिवादीहरुको बयान सकिएपछि थुनछेक बहस हुनेछ। यस बहसबाट लामिछानेसहितका प्रतिवादीहरुलाई थप हिरासतमा राख्ने, धरौटीमा छोड्ने, वा साधारण तारेखमा रिहा गर्ने भन्ने विषयमा अदालतले निर्णय गर्नेछ।

मुद्दाको सुनुवाइमा चासो देखाउँदै विभिन्न दलका नेता तथा कार्यकर्ता अदालत परिसरमा उपस्थित भएका छन्। यो प्रकरणले सहकारी क्षेत्रमा भइरहेको आर्थिक अनियमितता र राजनीतिक प्रभावबारे नयाँ बहस सिर्जना गरेको छ।

Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर