बिर्तामोड।
‘आफ्नो घरआगन वरिपरि सफा राखौं, सबै नागरिक स्वस्थ बनौं’ भन्ने अभियानका साथ झापाको बिर्तामोडमा शुक्रबार नगरस्तरीय सरसफाई अभियान तथा सरोकारवालाबीच गोष्ठी सम्पन्न भएको छ ।
बिर्तामोडलाई जतिसक्दो छिटो खुला दिसामुक्त गरी स्वच्छ र स्वस्थ बनाउन सहभागीले जोड दिए । बिर्तामोड नगरपालिका युएनह्याविटाट र मानव विकास केन्द्र नेपाल झापाको संयुक्त समन्वयमा भएको कार्यक्रममा सहजकर्ता बिनोद शर्माले चर्पी नभएका घरमा तत्काल चर्पी बनाउन प्रेरित गरी बिर्तामोडलाई खुल्ला दिसामुक्त बनाउन सबै सरोकारवाला जुट्नुपर्ने बताए ।
मानव विकास केन्द्रका भरत कुसुवारले साविक बिर्तामोडको नौ वटै वडामा अझै ११ सय ७४ घरमा चर्पी नरहेको जानकारी दिए । यसमा गरामनीको तथ्यांक समावेश छैन । बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत एवम् नगरस्तरीय समन्वय समितिका संयोजक टंकबहादुर कार्कीले नगरपालिका एक्लैको प्रयास यस्तो कार्यमा निरर्थक हुने भन्दै सबै सरोकारवालालाई अग्रसर हुन आव्हान गरे ।
सहजकर्ता शर्माले सो अवसरमा नेपालमा वर्षेनि पाँच वर्षमुनिका ६ हजार ५ सय बालबालिका सरसफाईजन्य रोगका कारण मर्ने गरेको जनाए । उनले ४२ प्रतिशत बालबालिका कुपोषणको शिकार बनेको समेत जानकारी दिए । भने– ‘हरेक नागरिक र सरोकारवाला जिम्मेवार बन्न र बनाउन सके समस्या समाधान हुन्छ, सबै लाग्ने हो भने जीवन पद्धति फेरिन सक्छ ।’
बिर्तामोडलाई खुला दिसामुक्त गरी यहाँको फोहोरलाई उद्योगको कच्चा पदार्थमा रुपान्तरण गरी मोहर आर्जन गर्नसक्ने तर्फ सबै अग्रसर हुनुपर्नेमा सो अवसरमा जोड दिइयो । कार्यक्रममा बिर्तामोड नगरका राजनीतिकर्मी, वडा नागरिक मञ्च, सरसफाई समन्वय समिति लगायतको प्रतिनिधिको सहभागिता थियो ।