ताप्लेजुङ- ताप्लेजुङ र पाँचथरका सुरक्षा निकायले अपराध नियन्त्रण तथा विपत् व्यवस्थापनमा सहकार्य गर्ने भएका छन्। दुवै जिल्लाका सुरक्षा अधिकारीको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले अपराध नियन्त्रण, विपत् व्यवस्थापन लगायतमा सहकार्य गर्ने निर्णय गरेको हो।
दुई जिल्लाको सिमाना काबेलीमा बिहीबार बसेको अन्तर जिल्ला सुरक्षा समन्वयको बैठकले अपराध नियन्त्रण, विपत् व्यवस्थापन लगायतमा सहकार्य गर्ने निर्णय भएको बताइएको छ। सुरक्षा अधिकारीको बैठकले सुरक्षा समन्वय, अपराध नियन्त्रण, लागू औषध नियन्त्रणजस्ता विषयमा पनि दुई जिल्लाका सुरक्षा अधिकारीबिच समन्वयात्मक सम्बन्ध स्थापित गर्ने निर्णय भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।
पाँचथरका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाको नेतृत्वमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा दुबै जिल्लाका नेपाली सेनाका गण तथा गुल्मका प्रमुख, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरु सहभागी हुनुभएको थियो।