Aamsanchar

भद्रपुरमा चुनावी सरगर्मी/मेयर, उपमेयर र वडाध्यक्षमा क–कसको दावेदारी !

Author Image
सोमवार, जेठ ८, २०७४

भद्रपुर।

पहिलो चरणको स्थानीय तहको चुनाव सकिएसँगै झापाको पुरानो नगर भद्रपुरमा दोस्रो चरणको चुनावी चहलपल बढेको छ । आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय चुनावमा झापाको सदरमुकाम भद्रपुर नगरलाई कब्जा गर्न दलहरु भरपर्दो उम्मेदवार छनौटमा व्यस्त देखिएका छन् । झापामा ३१ वटा दल दर्ता भए पनि भद्रपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, मधेशीजनाधिकार फोरम लोकतान्त्रिक पार्टीको दवदवा बढी छ ।
कुनै दलले उम्मेदवार घोषणा नगरिरहेको बेला राप्रपाले नगरका मेयर, उपमेयर, वडाध्यक्षसहित सदस्यका उम्मेदवार छनौट गरिसकेको छ । माओवादी केन्द्रले मेयर बाहेक उपमेयर, वडाध्यक्षसहित सदस्य टुंगो लगाइसकेको छ । नेपाली कांग्रेस र एमालेले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक आन्तरिक तालमेलमा जुटेकोले उनीहरुलाई उम्मेदवारको टुंगो लगाउन केही दिन लाग्ने बुझिएको छ ।

 

जिल्लामा १९ गते उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाए पनि अहिलेसम्म ठूला दुई दलले उम्मेदवार टुंगो लगाउन नसक्ने कारण नै कार्यकर्ताहरुबीच बढेको आन्तरिक मतभेद नै रहेको बताइएको छ । नेपाली कांग्रेस र एमाले जेठको दोस्रो साताभित्र उम्मेदवार टुंगो लगाइसक्ने बुझिएको छ । भद्रपुर नगरमा कुन दलबाट कसले मेयर, उपमेयर र वडाध्यक्षको टिकट पाउने भएका छन् त ? प्रस्तुत छ अहिलेसम्मको विवरण ।
नेपाली कांग्रेस :

यसअघि ६ जनाभन्दा बढी व्यक्तिको नाम चर्चामा आए पनि भद्रपुरमा अन्ततः नेपाली कांग्रेसमा राजेन्द्र घिमिरे र गणेश पोखरेल मेयरका मुख्य दाबेदार भएर उभिएका छन् । अहिले घिमिरे र पोखरेल पार्टीबाट टिकट लिने कसरत जुटेका छन् । उपमेयरमा गोमा भट्टराई र तारा भुर्तेलको नाम चर्चामा छ । त्यस्तै वडाध्यक्षतर्फ वडा नं. १ मा प्रकाश उप्रेती र मनप्रसाद कोइराला, वडा नं. २ मा खड्ग लिम्बू, राम कट्टेल र फागु सुब्बा, वडा नं. ३ मा कैलाश बोखिम, शिला तामाङ र सुरज तामाङ, वडा नं. ४ मा मदन बस्नेत र हर्क नेम्बाङको नाम सिफारिसमा परेको छ ।
त्यसैगरी वडा नं. ५, ६ र ८ मा वडाध्यक्षको उम्मेदवारमा धेरैले दावेदार जनाएपछि तीनवटा वडा बढी विवादित बनेको छ । पार्टीले यी तीन वडामा कसलाई वडाध्यक्षको टिकट दिने हो त्यो थाह नभए पनि उम्मेदवार आफंै दौडधुपमा लागिपरेका छन् । त्यस्तै वडा नं. ५ मा बन्धु कार्की, रमेशचन्द्र झा र सञ्जिव पौडेलको नाम चर्चामा छ । वडा नं. ६ मा सुशील धमला, रतिया राजवंशी, दुश्यन्त रायमाझी, भरत चौधरी, प्रविर घोष र शिला खड्का चर्चामा छन् ।

वडा नं. ७ मा उर्मिला गौतम र गंगालाल श्रेष्ठ, वडा नं. ८ मा मनोज सुब्बा, मदन अधिकारी, तोयानाथ गडतौला, विजय रिजाल, बालध्वज कार्की र पारु कोइरालाको नाम चर्चामा छ । वडा नं. ९ मा हुकुम प्याकुरेल, राजेन्द्र रिजाल, गणेश भण्डारी र लव पोखरेल, वडा नं. १० मा मोहन न्यौपाने, अम्बरबहादुर कार्की, गुरु घिमिरे, अर्जुन थापा, चन्द्रा भट्टराईको नाम सिफारिसमा परेको छ ।
नेकपा एमालेः

भद्रपुर नगरका पूर्व उपमेयर जीवनकुमार श्रेष्ठको नाम मेयर पदमा व्यापक चर्चामा छ । तर, श्रेष्ठसँगै यमबहादुर श्रेष्ठको नाम पनि मयेरमा त्यतिकै चर्चामा छ । कसलाई मेयरको टिकट दिने अन्तिम निर्णय जिल्ला र प्रदेश तहले गर्ने पार्टी निकट कार्यकर्ताले जनाएका छन् । उपमयेरमा चन्दा श्रेष्ठले टिकट पाउने भएकी छिन् । त्यस्तै वडाध्यक्षमा वडा नं. १ मा दशरथ प्रधान र लालबहादुर तामाङ, वडा नं. २ मा भीम केरुङ र पदम सुब्बा, वडा नं. ३ मा कमला थुलुङ्ग, वडा नं. ४ मा कहरसिंह राजवंशी, वडा नं. ५ मा गणेश अधिकारी, अमर नेपालको सिफारिस भएको छ ।

वडा नं. ६ मा राम अधिकारी, गोपाल मण्डल र शंकर गौतम, वडा नं. ७ मा युवराज खतिवडा, विनोद पोखरेल र लक्ष्मण पोखरेल, वडा नं. ८ मा हरि तिम्सिना, लोकनाथ भट्टराई र जगदीश जोशी, वडा नं. ९ मा शनिलाल राजवंशी र चुडामणि मैनाली, वडा नं. १० मा असारु राजवंशीको नाम सिफारिस भएको छ । एमाले चुनावी कार्यदल गठन गरिसकेकोले सोही कार्यदले उम्मेदवार टुंगो लगाउने एक कार्यकर्ताले बताए । भद्रपुर नगरमा जेठ १० गतेसम्म उम्मेदवार छनौट भइसक्ने उनको भनाइ छ ।

माओवादी केन्द्रः

माओवादी केन्द्रले मेयर बाहेक अन्य पदका उम्मेदार टुंगो लगाइसकेको जनाएको छ । मेयरमा ३ नं. क्षेत्रीय इञ्चार्ज नरेश सञ्जेल र एकीकृत अखिल शिक्षक संगठनका जिल्ला अध्यक्ष शिवराज भण्डारी मुख्य दाबेदारमा रहेको बुझिएको छ । सञ्जेल र भण्डारीमध्ये कसलाई मेयरको टिकट दिनेमा पार्टीभित्र छलफल भइरहेको जनाइएको छ । उपमेयरमा स्वर्णिका सिंह उठ्ने भएकी छिन् । त्यस्तै सबै वडाध्यक्षमा उम्मेदवार टुंगो लागिसकेको छ ।

वडा नं. १ मा मेदनीप्रसाद शिवाकोटी, वडा नं. २ मा चुडामणि दाहाल (राजु), वडा नं. ३ मा विष्णुबहादुर राई, वडा नं. ४ मा हंशधर राजवंशी, वडा नं. ५ मा सीता न्यौपाने रहेका छन् । त्यसैगरी वडा नं. ६ मा मोहम्मद हजरत अली, वडा नं. ७ मा पुष्पलाल राजवंशी, वडा नं. ८ मा चन्द्र खवास, वडा नं. ९ मा रतन राजवंशी र वडा नं. १० मा भारतसिंह राजंवशी रहेका छन् । माथिल्लो तहको तालमेल अनुसार कांग्रेससँग गठबन्धन भएमा फिर्ता हुने सर्तमा पार्टीभित्र उम्मेदवार घोषणा भइसकेको एक कार्यकर्ताले जनाए ।
राप्रपाः

नेपाली कांग्रेस पार्टी परित्याग गरी भर्खरै राप्रपामा प्रवेश गरेका झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु (राजु) भद्रपुरमा मेयरमा उम्मेदवारी दिएका छन् । केही समयअघि दमकमा आयोजित जनसभामा राप्रपा अध्यक्ष कमल थापाले पनेरुको नाम भद्रपुरको मेयरका लागि घोषणा गरेका थिए । उपमेयरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी अध्यक्ष राधा कार्की उठने भएकी छिन् ।

त्यस्तै नगरको वडाध्यक्षमा सबै उम्मेदवार टुंगो लागिसकेको छ । वडा नं. १ मा शंकर लिम्बू, वडा नं. २ मा कृष्ण सुब्बा, वडा नं. ३ मा मोहनप्रसाद खरेल, वडा नंं. ४ मा पूर्ण राना, वडा नं. ५ मा देवु घिमिरे रहेका छन् । त्यसैगरी वडा नं. ६ मा ढकेन्द्र राजवंशी, वडा नं. ७ मा सीता लम्साल, वडा नं. ८ मा रञ्जित खड्का, वडा नं. ९ मा नेपालसिंह राजवंशी र वडा नं. १० मा नगर अध्यक्ष बाबुराम पराजुली रहेका छन् । नगरमा सबै पदका उम्मेदवार टुंगो लागिसकेकोले राप्रपाले भद्रपुर नगरमा चुनावी प्रचार–प्रसार कार्य र सभालाई समेत तीव्रता दिन थालिसकेको छ । पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन र मेयरका उम्मेदवार पनेरुको सहभागितामा शनिबार भद्रपुरमा चुनावी सभा भएको बताइएको छ ।
संघीय समाजबादी फोरम नेपालः भद्रपुरमा मेयर, उपमेयर र वडाध्यक्ष उम्मेदवार छनौटका लागि पार्टीको क्षेत्रीय समितिले कार्यदल बनाएको छ । सोही कार्यदलले वडा नं. १ देखि १० सम्मका उम्मेदवार छनौट गरी जेठ १० गतेभित्र पेश गर्ने निर्णय गरेको जनाइएको छ । समाजवादी फोरम नेपाल केन्द्रीय निर्णयको प्रतिक्षामा रहेको भएता पनि आन्तिरक चुनावी छनौट कार्यलाई तीव्रता दिएको एक कार्यकर्ताले जनाए । समाजवादी फोरम नेपाल र जनाधिकार फोरम लोकतान्त्रिकबीच तालमेल बनाएर नगरमा चुनाव लड्ने योजना समेत बन्न थालेको बताइएको छ ।
स्वतन्त्र उपमेयरः

भद्रपुर– ५ निवासी गोपाल धमलाले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी घोषणा गरिसकेका छन् । धमला यसअघि राप्रपाका सक्रिय कार्यकर्ता थिए । राप्रपाबाट बाहिरएपछि उनले भद्रपुर नगरमा उपमेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नगरबासी र कार्यकर्ताको साथ सहयोगले आफूले उपमेयरमा उम्मेदवारी दिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर