Aamsanchar

नेतृत्वको विवेकहीनता – प्रेस र नागरिक सुझावको उपेक्षा

Author Image
शनिवार, वैशाख २०, २०८२

राज्य सञ्चालन भन्नासाथ अब नेतृत्वको विवेक होइन, नेतृत्वको जिद्धि सम्झनुपर्ने समय आएको छ। यहाँ नेतृत्व भनेको कुर्सीको मालिक हो, जिम्मेवारी होइन। विवेक? त्यो त चुनाव जितिसकेपछि गाउँको बाटो झैं भत्किएको हुन्छ — पुनर्निर्माण गर्ने काम पाँच वर्षपछि अर्को चुनावका नाराको रूपमा आउँछ। नेतृत्व विवेकी हुन्छ भन्ने पुरानो किताबको मान्यता हो, अहिले त ‘विवेकहीन नेतृत्व’ नै आधुनिक राजकीय अभ्यास हो।

प्रेस स्वतन्त्रता ? त्यो त “बोल्यो भने पोल्छ” को डर :
नेतृत्वको विवेक मापन गर्ने एउटा सजिलो सूचक हो — प्रेस स्वतन्त्रता। प्रेसलाई कति सम्मान गर्छ भन्ने कुराले बताउँछ कि राज्य कति खुला, पारदर्शी र उत्तरदायी छ। तर हाम्रा नेताहरूका लागि प्रेस स्वतन्त्रता भनेको “गाडीमा स्पीकर जडान गरेर उनीहरूको असफलता जताततै बजाउने दुस्साहस” हो। त्यसैले त, उनीहरू यस स्वतन्त्रतामाथि ‘नियन्त्रणको टेस्टर’ राख्न खोजिरहेका छन् — सामाजिक सञ्जालको नियमन भन्दै!

जब पत्रकारले जनताको पिडा उठाउँछन्, भ्रष्टाचार देखाउँछन्, तब नेतृत्वको मनोविज्ञानमा शंका गडबड हुन थाल्छ। “यी किन बोले?“, “कसको इसारामा हो?“, “चुनावी प्रतिस्पर्धीको षड्यन्त्र हो कि?“ — विवेकशून्य नेताको यो ‘डिफल्ट मोड’ हो।

नागरिक सुझाव? – लोकतन्त्रको भूत :
लोकतन्त्रमा नागरिक सुझावको ठूलो महत्त्व हुन्छ भन्थे — तर त्यो पाठ त नेताले केवल भाषणमा पढेका हुन्, अभ्यासमा होइन। यहाँ सुझावको मूल्य सिफारिसको हैसियतमा मात्र हुन्छ। सुझाव दिने नागरिकलाई “ट्रोल“, “प्रायोजित“ वा “विदेशी एजेन्ट“ घोषित गर्नुपर्छ भन्ने लुकेको नीति छ। शासनको गाइडबुकको पहिलो पानामा लेखिएको छ, “जो बोल्छ, उसलाई चुप गराउनु — अनि चुप भएकाहरूलाई ’सहमति’ मान्नु।“

नेतृत्वले कहिले नागरिकको सुझाव सुन्छ? जब त्यो सुझाव ’आफ्ना समर्थक’ले दिन्छन्। बाँकीका लागि सुझाव भनेको ’सरकार विरोधी मानसिकता’ को प्रमाणपत्र हो। यस्तो अवस्थामा सुझाव दिनु भनेको ज्यानलाई झोलामा राखेर सिंहदरबारको गेटमा पु–याउनु जस्तै हो।

सल्लाहकार :  विवेकको लुगा लगाएका चुपचाप पात्र
नेतृत्वले जनताको कुरा नसुनेपछि अर्को आशा हुन्छ — सल्लाहकार। तर आजकालका सल्लाहकारहरू पनि नेतृत्वकै प्रतिछाया भएका छन् — एकातिर विवेकको गफ, अर्कोतिर सत्ताको चाकरी। सरकारका सल्लाहकारले सुझाव दिन्छन्, तर कसलाई? नेता आफैं निर्णय गरिसकेका हुन्छन् — सल्लाहकारको भूमिका केवल निर्णयको समर्थन गर्न हो।

जब सरकार असफल हुन्छ, तब दोष सल्लाहकारमाथि जान्छ। सफल भए? — त्यो नेताको दूरदृष्टि। नेतृत्वको विवेक गुमेको देखिँदैन, किनभने त्यसलाई सल्लाहकारको भाषणले रंग्याइन्छ। विवेक नभएको ठाउँमा ‘प्रस्तावनाहरू’ लेखिन्छ, ‘नीतिगत कागजात’ तयार पारिन्छ — ताकि लागोस् केही गरिँदैछ।

नियमन वा नियन्त्रण ?
सामाजिक सञ्जाल नियमनको नाममा सरकार अब “मिडिया लाइसेन्स“ दिने सपना देखिरहेको छ। समाचार लेख्न पहिला ‘अनुमति’ चाहिने हुन थाल्छ — अब फेसबुक स्टाटस लेख्न पनि ‘डिजिटल हुलिया फाराम’ भर्नुपर्ने दिन टाढा छैन। सरकार भन्छ — “नियमन हो, नियन्त्रण होइन।” हो, त्यसो भए गाग्री फोरेर बाल्टिन बनाउने कामलाई पनि त ‘पुनर्चिन्तन’ भनिन्छ!

नेतृत्व आफ्नो छाया देख्न डराउन थाल्छ, जब छाया आलोचना गर्न थाल्छ। त्यसैले उनीहरू सामाजिक सञ्जाल, पत्रकार र विचारकहरूलाई ‘अनियन्त्रित तत्व’ ठान्छन्। अब चाहिन्छ ‘सोचको प्रमाणपत्र’ — जसले समर्थन गर्छ, ऊ सचेत नागरिक; जसले आलोचना गर्छ, ऊ अराजक!

नेतृत्वको आइनाः चाटुकार मिडिया
सत्य बोल्ने मिडियामाथि बन्देज लगाएर, सरकारले आफ्नै मञ्जुरीपत्र प्राप्त मिडिया बनाउँछ — जुन “आज प्रधानमन्त्रीले मकैको पापड चाख्नुभयो” भन्ने खबरलाई ब्रेकिङ बनाउँछ। यहाँ पत्रकारिताको मापदण्ड होइन, चाकरीको स्तर नापिन्छ।

यस्ता मिडिया नेतृत्वको विवेक होइन, घमण्ड बढाउने ‘रेड बुल’ हुन्। ती मिडियाले नेताको गल्ती होइन, जनता किन असन्तुष्ट छन् भनेर प्रश्न गर्छन्। नेतृत्वका लागि यस्तो मिडिया ‘राष्ट्रिय गौरव’ हो। बाँकी स्वतन्त्र मिडियालाई चाहिँ ‘राष्ट्रिय बदनाम’ गर्ने अस्त्रको रूपमा प्रस्तुत गरिन्छ।

विवेकहीन नेतृत्वको अन्त्य ?
जब नेतृत्व विवेकहीन हुन्छ, तब निर्णय केवल अड्कलमा आधारित हुन्छ। रणनीति होइन, प्रतिक्रिया। योजना होइन, प्रचार। अनि जनताले प्रश्न गर्दा जवाफ होइन, धम्की।

तर इतिहासले देखाएको छ — विवेकविहीन सत्ताले लामो समयसम्म जनताको विवेक नियन्त्रण गर्न सक्दैन। जनताको मौनता कहिलेकाहीं झन ठूलो गर्जनको तयारी हुन्छ। अनि त्यो गर्जनले विवेक गुमाएका सत्ताहरूलाई नाङ्गो बनाउँछ।

देशको नेतृत्वले प्रेसलाई दबाउने, नागरिक सुझावलाई उपेक्षा गर्ने, र सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने प्रयास गर्दा केवल एक कुरा सिद्ध हुन्छ — उनीहरू विवेक गुमाइसकेका छन्। यस्तो नेतृत्वले राष्ट्रको भविष्य होइन, केवल आफ्ना पद र सुविधाको सुरक्षा गर्छ।

विवेक भनेको सुनुवाइ, आलोचनाको सम्मान, र निर्णयमा जिम्मेवारी हो। त्यो गुमेपछि बाँकी रहन्छ केवल कुर्सीको घमण्ड, भाषणको खोक्रोपन, र जनताको मौन रुष्टा। यदि नेतृत्व आफैंले विवेक गुमाएको स्वीकार्दैन भने जनताले देखाउने विवेक नै अन्तिम फैसला हुनेछ।

विश्व प्रेस स्वतन्त्रता दिवसको सबैमा शुभकामना ।

Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर