Aamsanchar

सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरामा रहेकी सांसद मञ्जु खाँणलाई भैरहवा विमानस्थल छानबिनको जिम्मा

Author Image
आइतवार, जेठ ४, २०८२

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताको छानबिन गर्न अध्ययन उपसमिति गठन गर्दै यसको संयोजकमा सांसद मञ्जु खाँणलाई नियुक्त गरेको छ ।

आइतबार बसेको समितिको बैठकले एमाले सांसद योगेश भट्टराईले संयोजक पदबाट राजीनामा दिएपछि खाँणलाई संयोजकको जिम्मेवारी दिएको हो । भट्टराईमाथि पूर्वपर्यटनमन्त्रीका रूपमा परियोजनासँग सम्बन्धित निर्णयप्रति प्रश्न उठेपछि उनले पद त्याग गरेका थिए ।

तर मञ्जु खाँण स्वयं भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरामा रहेकी कारण उपसमितिको संयोजकमा उनको नियुक्ति विवादास्पद बनेको छ। उनी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा अनुसन्धानमा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० सालदेखि खाँण दम्पतीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको उजुरीका आधारमा छानबिन अघि बढाएको थियो। यस क्रममा मञ्जु खाँणलाई सम्पत्ति विवरण फारम भराउने तथा सोधपुछ गरिएको थियो।

शरणार्थी प्रकरणमा संलग्नता आरोपित केशवप्रसाद दुलाल र सानु भण्डारीको बयानमा बालकृष्ण खाँणले नगद रु १ करोड २४ लाख ५० हजार घुस बापत लिएको दावी गरिएको छ। उनीहरूले मञ्जु खाँणको नामसमेत जोडेको भन्दै प्रहरी र सरकारी वकिलको कार्यालयले तथ्यहरू जिल्ला अदालतमा पेस गरिसकेको छ ।
यस्तो अवस्थामा अनुसन्धानको दायरामा रहेकी सांसदलाई नै सार्वजनिक आयोजना सम्बन्धी भ्रष्टाचार अनुसन्धानको नेतृत्व दिइनु संसदीय मर्यादा र नैतिकताको दृष्टिले प्रश्न उठाउने निर्णयका रूपमा हेरिएको छ ।

यसबारे लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भने, “उहाँ लेखा समितिकी सदस्य भएकी हुनाले अन्य सदस्यजस्तै संयोजक बन्नुभएको हो। उपसमितिले सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ दिनेछ।”

२०७९ पुससम्म गृहमन्त्री रहेका बालकृष्ण खाँण रुपन्देहीबाट पराजित भएपछि कांग्रेसले मञ्जु खाँणलाई समानुपातिक सूचीबाट सांसद बनाएको थियो। त्यसयता उनी लेखा समितिमा सक्रिय छिन्।
भैरहवा विमानस्थल निर्माणमा लागत, गुणस्तर र ढिलाइसम्बन्धी गम्भीर प्रश्नहरू उठिरहेका बेला अध्ययन उपसमिति गठन भएको हो।

उनको नियुक्ति विवादास्पद बन्नुको कारण

Views: 244

प्रतिक्रिया (०)