काठमाडौं । चर्चित सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीका पक्षमा दायर बन्दीप्रत्यक्षीकरण रिटमा बहस अन्तिम चरणमा पुगेको छ।

लामिछानेतर्फका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बिहीबार संवैधानिक इजलासमा बहस सम्पन्न गरेपछि जोशी पक्षका वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले अदालत समक्ष आफ्नो तर्क पेस गरेका छन्। अहिले सरकारी वकिलहरूको जवाफी बहस चलिरहेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रिटमाथि सुनुवाइ हुँदै आएको छ।

यसअघि मंगलबार अधिवक्ता श्रेष्ठले लामिछानेको पक्षमा बहस सुरु गरे पनि समय अपुग भएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। बुधबार भने संवैधानिक इजलास नबस्ने भएकाले सुनुवाइ स्थगित भएको थियो।

अब सरकारी वकिलहरूको जवाफी बहसपछि जाहेरवालातर्फका कानुनी प्रतिनिधिले आफ्नो पक्ष राख्नेछन्। त्यसपछि मात्रै सर्वोच्च अदालतको आदेश आउनेछ।
तर आदेश आजै आउँछ वा केही दिनपछि भन्नेबारे अझै यकिन भइसकेको छैन।
रवि लामिछाने र छविलाल जोशी दुवै जना बुटवलस्थित सुप्रिम सहकारीमा ठगी आरोपमा पुर्पक्ष थुनामा छन्। जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले उनलाई पुनः थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध सर्वोच्चमा परेको रिट र बन्दीप्रत्यक्षीकरण रिटको संयुक्त सुनुवाइ चलिरहेको हो।

