खोटाङ। खोटाङ जिल्लाको दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुल निर्माणको काम सुरु भएको छ। शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले पुलको शिलान्यास गर्दै औपचारिक रूपमा निर्माण प्रक्रिया प्रारम्भ गरेका हुन्।

दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक खण्डमा पर्ने र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र वडा १५ विजयखर्कको सिमानामा रहेको दिखुवा खोलामा वर्षायाममा सवारी आवागमनमा ठूलो समस्या हुँदै आएको थियो। पुल बनेपछि यो समस्या हट्ने विश्वास लिइएको छ।

पुल निर्माण भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेश सडक पुल सहयोग इकाई ईटहरीको साझेदारीमा हुँदैछ। कुल लागत करिब ५ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ। स्टिल ट्रष्ट प्रविधिमा बन्ने पुलका लागि आवश्यक संरचनामध्ये करिब २ करोड रुपैयाँ बराबरको स्टिल ट्रष्ट निर्माण भइसकेको र केही भाग निर्माणस्थलमा ल्याइसकेको इकाईका प्रमुख सुर्य नारायण चौधरीले जानकारी दिए।
स्थानीय पूर्वाधार सुदृढीकरणसँगै यो सडकले दिक्तेलदेखि तराई झर्ने वैकल्पिक मार्गको रूपमा महत्त्व राख्दछ। दिक्तेल–महुरे–राजापानी–रेग्मीटार मार्ग ५९ किलोमिटर लामो भए पनि निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक यो भन्दा साढे १७ किलोमिटर छोटो छ।

पुल सम्पन्न भई सडक सञ्चालनमा आएपछि खाद्यान्न, इन्धन, हार्डवेयरलगायत दैनिक उपभोग्य वस्तु ढुवानी सहज हुने स्थानीय व्यवसायीहरू बताउँछन्। यसले जिल्लाको समग्र आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।


