Aamsanchar

सर्पगन्धा औषधीय वनस्पतिको व्यवसायिक खेती शुरु

Author Image
आइतवार, असार २२, २०८२

तनहुँ – देवघाट गाउँपालिकामा पहिलोपटक सर्पगन्धा औषधीय वनस्पतिको व्यवसायिक खेती शुरु गरिएको छ । देवघाट–५ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समूहले चार रोपनी जग्गामा आठ हजार सर्पगन्धाका बिरुवा रोपेका छन् ।

खेतीका लागि डिभिजन वन कार्यालयले चार लाख रुपैयाँ र वन समूहले एक लाख १० हजार रुपैयाँ लगानी गरेको हो । वडामा रहेको चक्रवर्ती सामुदायिक वन समूहले चार हजार र रानीवन समूहले एक हजार सर्पगन्धाका बिरुवा रोपेका छन् । यसअघि काठका बिरुवा रोपिँदै आएको सामुदायिक वनमा अहिले भने औषधीय महत्त्व भएको सर्पगन्धाको खेती शुरु गरिएको हो ।

कालिका सामुदायिक वन वडा नम्बर ५ र सुनझाँक्री सामुदायिक वन वडा नम्बर १ ले आफैं उम्रिएको सर्पगन्धाको संरक्षण गर्न थालेका छन् । मधुवन समूहका अध्यक्ष डिल्लीराम अधिकारीका अनुसार सर्पगन्धाको महत्त्व बुझेर खेती शुरु गरिएको हो । यसबाट वनको आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ ।

चक्रवर्ती समूहका अध्यक्ष टुकनाथ अधिकारीले वनमा बढेको झाडी फाँडेर सर्पगन्धा रोपिएको जानकारी दिनुभयो । सब–डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले सर्पगन्धाको महत्तवबारे जानकारी दिइएपछि वन समूहहरू खेतीमा अग्रसर भएका बताउनुभयो । पहिले झाडी ठानी मासिने सर्पगन्धा अहिले भने बचाइँदै र खेती गरिँदैछ ।

भौगोलिक हिसाबले दुई सयदेखि पाँच सय मिटर उचाइमा मात्र सर्पगन्धा उत्पादन गर्न सकिने भएकाले देवघाट–१ र ५ मा मात्रै खेती सम्भव रहेको भट्टले बताउनुभयो । सर्पगन्धाको जरामा रहेका रसायन उच्च रक्तचाप, निद्रा नलाग्ने, डिप्रेसन, मानसिक तनाव, र मृगीजस्ता रोगको उपचारमा उपयोगी हुने भएकाले यसको माग बढ्दै गएको छ ।

देवघाटमा पहिलोपटक गरिएको खेतीका लागि जनकपुर र सर्लाहीबाट प्रतिबिरुवा ५० रुपैयाँमा खरिद गरिएको हो । सरकारका प्राथमिकतामा रहेका ३० वटा जडीबुटीमध्ये सर्पगन्धा पनि पर्छ । यसको भन्सार दर प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ । उचित संरक्षण र व्यवस्थापन गर्न सके दुई वर्षमै सामुदायिक वनहरूले सर्पगन्धा बेचेर लाखौं रुपैयाँ कमाउन सक्ने अनुमान गरिएको छ ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर