

इनरुवा- सुनसरीको कोशी गाउँपालिका वडा ८ भण्टाबारी र भारतको भिमनगर सीमानाका दशगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाई अभियान सुरु भएको छ। नेपाल भारतको दशगजा क्षेत्रमा दुइ देशिय सुरक्षाकर्मीले संयुक्त सरसफाई अभियान सञ्चालन गरेको हो।
सुनसरीको भण्टाबारी र भारतको भिमनगरसँग जोडिएको नेपाल भारतको सीमा क्षेत्रको दशगजा क्षेत्रमा फोहरले गर्दा हिँडडुल गर्न समेत समस्या भएको गुनासो आएपछि त्यहाँ संयुक्त सरसफाई अभियान चलाएको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा भारतको एसएसबीको संयुक्त टोलीले अभियान सञ्चालन गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा मुल्म हे.क्वा. हरिपुर सुनसरीका सशस्त्र प्रहरी नायब उपरिक्षक शमशेर कार्की, इलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज, भारतका तर्फबाट सशस्त्र सीमाबल शैलेशपुरका कमान्डर एस जिडी नन्द लाल समेतको संयुक्त टोलीले सरसफाइअभियान सञ्चालन गर्नुभएको हो ।

दुबै देशका सहभागी सुरक्षाकर्मीहरूले नेपाल र भारतको दशगजा क्षेत्रमा रहेको फोहरहरूलाई पन्छाउन र व्यवस्थित गर्दै अभियानलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक कार्कीले दशगजामा रहेको फोहरले गर्दा साझविहान हिडड्डलमा समेत समस्या भएपछि संयुक्त सरसफाइ अभियान संचालन गरिएको बताउनुभयो ।
उहाँले दशगजा दुबै देशको सरोकार भएकोले सबै मिलेर दशगजा क्षेत्रलाई सरसफाइ गरेको र नागरिकहरूले पनि सफा बनाउनुपर्ने बताउनु भयो । अभियानमा स्थानीय व्यापारी, आमनागरिक, समाजसेवी, र पत्रकारहरूको समेत सहभागीता थियो ।
अभियानले सीमा क्षेत्रमा दुवै देशबिचको सहयोग र सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको भारतका सशस्त्र सीमाबल शैलेशपुरका कमान्डर एस जिडी नन्द लालले बताउनुभयो।



