Aamsanchar

मालपोतबाट लेखापढी व्यवसायीहरु पक्राउ

Author Image
बुधवार, वैशाख ९, २०८३

भक्तपुर –  प्रहरीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट लेखापढी कानुन व्यवसायीहरूलाई नियन्त्रणमा लिएको छ । कार्यालयभित्र लेखापढीको आवरणमा बिचौलियाको काम गरेको आरोपमा बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट १५/१६ जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसरमा राखिएको प्रहरीले पुष्टि गरेको छ । लेखापढी व्यवसायीले आफ्नो कार्यालयमा बसेर सेवा दिनुपर्नेमा सरकारी कार्यालयका कोठाकोठामा पुगेकाले पक्राउ गर्नुपरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले स्पष्ट पारेका छन् ।

लेखापढी व्यवसायीलाई प्रहरीले योजनाबद्ध धरपकड गरेको भन्दै भू–सेवा, लेखापढी तथा कानुनी सेवा व्यवसायीहरूले ठप्प पारेका छन् । प्रहरीले व्यावसायिक वातावरणमा आतंक पैदा गरेको भन्दै लेखापढी कानुन व्यवसायी संघका सचिव आशिष घिमिरेले विरोध जनाएका छन् । निःशर्त रिहाइ र व्यवसायको सम्मानजनक वातावरण बनाउन पर्ने व्यवसायीहरूको माग छ ।

 

सामाजिक अभियन्ता प्रेमध्वज मोक्तान कानुनको परिधिभित्र रहेर प्रहरी र व्यवसायी चल्नुपर्ने बताउँछन् । राष्ट्रिय मानवअधिकार संगठन भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धर सम्मानित अदालतबाट प्रमाणपत्र पाएर सेवा गरिरहेका व्यवसायीमाथि अनावश्यक धरपकड गर्नु नहुने बताएका छन् । घुसको लेनदेन गराएको अथवा अनैतिक काममा संलग्न भएको प्रमाण बेगर व्यवसायीहरूलाई काममा बाधा पुर्‍याउनु नहुने सेवाग्राहीहरूले समेत प्रतिक्रिया दिएका छन् ।

Views: 12

प्रतिक्रिया (०)