
सुरुङ्गा। कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति, बजेट तथा कार्यक्रम समेटिएको ‘निलो पुस्तक’ सार्वजनिक गरेको छ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा र कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा उक्त निलो पुस्तक सार्वजनिक गरिएको हो।

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री कार्कीले नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै पुस्तक प्रकाशन गर्ने झापाको पहिलो नगरपालिका बन्न सफल भएकोमा कनकाई नगरपालिकाको प्रशंसा गरे। “कतिपय पालिकाहरु अझै पनि नीति तथा बजेट सार्वजनिक गर्न नसकेको अवस्थामा कनकाईको यो कदम उदाहरणीय छ,” मन्त्री कार्कीले भने।

नगर प्रमुख पोखरेलले अघिल्ला वर्षका योजनालाई निरन्तरता दिँदै स्वास्थ्य बीमा, मृत्यु संंस्कार सहायता, खानेपानी पहुँच, अक्सिजन ग्यास उपलब्धता र अक्षयकोष स्थापना जस्ता विषयमा थप कार्यक्रम ल्याइने जानकारी दिए। उनका अनुसार यस वर्ष ६०० घरधुरीको स्वास्थ्य बीमा गरिएकोमा, आगामी वर्ष १,३०० घरधुरीलाई बीमा गरिने लक्ष्य लिइएको छ।


कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत मन्तव्य दिँदै कार्यक्रममा औचित्यमाथि प्रकाश पारेका थिए भने नगर उप–प्रमुख आशा शर्मा शिवाकोटीले चालु आर्थिक वर्षको समिक्षा र आगामी वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। उनले आगामी वर्षका लागि ७० करोड ६९ लाख २५ हजार १०१ रुपैयाँको बजेट प्रस्ताव गरिएको जानकारी दिइन्।
साथै, सोही अवसरमा नगरका विभिन्न क्षेत्रमा योगदान पु¥याएका १६ जना उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुनेमा उत्कृष्ट करदाता कुमारमणि पोखरेल, उत्कृष्ट खेलाडी रोमा थापा, उत्कृष्ट कृषक, पशुपालक, विद्यार्थी, निर्माण व्यवसायी, सञ्चारकर्मी, कर्मचारीलगायत थिए। आमसंचार डटकमका व्यवस्थापक तथा फोटो पत्रकार विकास उप्रेतीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख जमुना कटुवालले गरेकी थिइन्। कार्यक्रममा वडाध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, संघ–संस्थाका प्रतिनिधिलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

