
फायल फोटो ।

काठमाडौं । मुलुकका प्रमुख नदीहरूमध्ये कोशी, नारायणी, कर्णाली र महाकालीमा जलसतह तीव्र गतिमा बढ्न सक्ने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको पछिल्लो बुलेटिनमा तीन दिनसम्म उल्लेख्य वृद्धि हुने अनुमान गरिएको हो ।

हाल नदीहरू सतर्कता तहभन्दा तल नै रहेपनि मौसममा आएको परिवर्तनले बहाव ह्वात्तै बढ्ने सम्भावना रहेको विभागको विश्लेषण छ । विशेष गरी कमला र बागमती नदीमा आज र भोलि सामान्य वृद्धि हुने, भने पर्सि उल्लेख्य बाढी आउने सम्भावना महाशाखाले औँल्याएको छ ।

साना नदीहरूमा उच्च जोखिम
देशका पहाडी र हिमाली भूभागमा पर्ने साना नदीहरू भने बढी संवेदनशील अवस्थामा छन् । विभागका अनुसार ताप्लेजुङदेखि काठमाडौं उपत्यकासम्मका जिल्ला—सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर लगायतमा आकस्मिक बाढीको मध्यम जोखिम छ।


त्यस्तै, पूर्वी पहाडदेखि सुदूरपश्चिमसम्मका अन्य धेरैजसो जिल्लाहरूमा पनि साना नदी तथा खोल्साखोल्सीमा जलसतह उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ । इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (पूर्व–पश्चिम), लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर र दार्चुला जिल्लामा पनि जोखिम उच्च रहेको उल्लेख छ ।
सतर्क रहन विभागको आग्रह
महाशाखाले नदी आसपासका क्षेत्र तथा डुबान सम्भावित भू–भागका बासिन्दालाई सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रबाट टाढा बस्न र स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूसँग समन्वयमा रहन अपिल गरेको छ ।
तीन दिनसम्म सक्रिय वर्षा प्रणाली रहने संकेत देखिएकाले आकस्मिक बाढी, डुबान र पहिरोको जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने विज्ञहरूको सुझाव छ । यस्ता अवस्थामा जनधनको क्षति हुन नदिन पूर्व तयारी आवश्यक भएको जलविज्ञहरू बताउँछन् ।

