Aamsanchar

झोलुङ्गे पुल तयार, ठेकेदार समस्यामा : मेचीनगरको भुक्तानी अप्ठ्यारोमा

Author Image
बुधवार, साउन १४, २०८२

मेचीनगर। मेचीनगर–१५ स्थित ज्यामिरगढीमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन नजिकिँदै गर्दा ठेकेदार भने भुक्तानी नपाएर समस्यामा परेका छन्। आर्थिक स्रोत सुनिश्चित नगरी ठेक्का प्रक्रिया अघि बढाइएकोले अहिले आएर नगरपालिका आफैँ अप्ठ्यारोमा परेको छ।

२०७९ असारमा सुरु गरिएको पुल निर्माण कार्य २०८२ पुससम्म सक्नुपर्ने सम्झौतासहित अघि बढाइएको थियो। हाल पुलको संरचनागत र भौतिक काम सम्पन्न भइसकेको छ। प्राविधिक परीक्षणपछि सञ्चालनमा ल्याइने तयारी छ। झण्डै ३५० मिटर लामो आधुनिक शैलीको मल्टिस्पान एन–टाइप झोलुङ्गे पुलले वडा नं. १५ को बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्नेछ।

पुलको लागत ४ करोड ३८ लाख रुपैयाँ अनुमान गरिएको छ। तर अहिलेसम्म मेचीनगर नगरपालिकाले जम्मा एक करोड ८४ लाख रुपैयाँ भुक्तानी गर्न सकेको छ। बाँकी रकमको टुंगो लाग्न सकेको छैन। बाँकी रकमका लागि ठेकेदार थानी निर्माण सेवा प्रालिले पटक–पटक ताकेता गर्दा पनि नगरपालिकाले भुक्तानी गर्न नसकेको बताइएको छ।

“पैसा आउँछ कि आउँदैन थाहा छैन, तर काम सकेका छौँ”, प्रालिका इन्जिनियर शेखर रायमाझी भन्छन्, “जोखिम मोलेर काम गरेका हौँ, अब भुक्तानी पाउने सुनिश्चितता चाहिएको छ।”

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बजेट अभावका कारण समस्या आएको स्वीकार गर्दै भने, “स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीले पनि भुक्तानी गर्न नसक्ने भनेपछि थप चुनौती आएको छ।” संघीय सरकारबाट विनियोजित रकम नगरपालिकामा झर्ने आशमा ठेक्का सम्झौता गरिएको भए पनि त्यो रकम अझै नआएको उनले बताए।

पुलको शिलान्यास २०७९ मंसीर १० गते प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा र प्रदेशसभा सदस्य गोपाल तामाङले संयुक्त रूपमा गरेका थिए। सांसद शर्माले केही दिनअघि पुलमै श्रमदानसमेत गरेका थिए। तर निर्माण अवधिमा ठेकेदारले काम अधुरो छाडेको भन्दै स्थानीय युवाहरूले विरोध प्रदर्शन समेत गरेका थिए।

हाल पुल निर्माण कार्य सकिए पनि भुक्तानीको टुंगो नलाग्दा निजी ठेकेदार कम्पनी आर्थिक संकटमा परेको छ। नगरपालिकाले पनि सम्बन्धित मन्त्रालयमा बजेट माग गर्दै पटक–पटक पत्राचार गरेको जनाएको छ।

Views: 142

प्रतिक्रिया (०)