Aamsanchar

प्रहरीप्रति अविश्वास बढ्दै, गोप्य सुचना दिने नागरिकको नाम तस्कर सँग पुर्याएको आरोप

Author Image
शुक्रवार, साउन २३, २०८२

तुलसीपुर । शान्ति, सुरक्षा र आपराधिक नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न उत्सुक रहेका नागरिक अहिले उल्टै आफू असुरक्षित भएको महसुस गर्न थालेका छन् । प्रहरीमा विश्वास गरेर गोप्य सूचना दिने नागरिककै पहिचान अपराधीसम्म पुग्ने र त्यसपछि धम्की खेप्नुपर्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ ।

यो पीडा शुक्रबार तुलसीपुर इलाका प्रहरी कार्यालयद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा खुलासा भयो । कार्यक्रमका सहभागीहरूले प्रहरी जनसुरक्षाभन्दा पनि अपराधीको सुरक्षामा लागिपरेको आरोप लगाए ।

तुलसीपुर–८ कृष्ण मन्दिरका जितबहादुर खडकाले खोलामा भइरहेको अवैध नदीजन्य वस्तु चोरीबारे प्रहरीलाई खबर गरेपछि उल्टै तस्करले “किन प्रहरीलाई भन्यौ?” भन्दै धम्क्याएको अनुभव सुनाए ।
“नागरिकलाई ‘सुरक्षाका आँखाहरु’ बन्न आग्रह गर्ने, तर खबर गर्दा सूचना चुहाउने? यसरी कसरी जनसुरक्षा सम्भव हुन्छ?” खडकाको प्रश्न थियो ।

यो समस्या व्यक्तिगत मात्र नभई संस्थागत तहमा समेत देखिएको वडा अध्यक्ष धर्मराज वलीको भनाइ छ । उनले सडक मर्मतका लागि ल्याइएका ग्राभेलका ट्याक्टर पक्राउ परेको घटना स्मरण गर्दै भने, “खोलाबाट रातारात गिट्टी, बालुवा चोरी भइरहेको खबर गर्दा उल्टै धम्की आयो ।”

कार्यक्रममा अन्य नागरिकहरूले पछिल्लो समय लागुऔषध दुव्र्यसनी तीव्र गतिमा फैलिरहेको र यसले परिवार र समाज दुवैलाई असुरक्षित बनाइरहेको बताए ।

आक्रोशपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले नागरिकको आरोपप्रति आश्चर्य प्रकट गर्दै भने, “सूचना चुहावट गम्भीर विषय हो । यस्तो गुनासो दोहोरिन नदिने गरी कदम चाल्छु ।”

तुलसीपुर उपमहानगरपालिका मेयर टिकराम खडकाले भने प्रहरीलाई मात्र दोष दिएर उम्कन नहुने टिप्पणी गरे । “काम भएका छन्, अझै गर्नुपर्ने छ । निराशा भन्दा आशा जगाउने वातावरण बनाऔं,” उनले भने ।

तर तुलसीपुर–९ का वडा अध्यक्ष घनश्याम ढकालले भने स्थानीय सरकार नागरिकको अपेक्षा अनुसार काम गर्न असफल भएको स्वीकार गरे ।

यस कार्यक्रमले एक पटक फेरि सुरक्षा निकाय र नागरिकबीचको विश्वास संकटमा परेको स्पष्ट पारेको छ । नागरिकका गुनासो र अनुभवले गृहमन्त्रालयको कमजोरी पनि उजागर गरेको देखिन्छ — जसमा न त सूचनाको गोपनीयता सुनिश्चित छ, न अपराध नियन्त्रणमा ठोस परिणाम ।

कार्यक्रममा इलाका प्रशासन प्रमुख महेश गुरुङ, महिला अधिकारकर्मी देवा डाँगी, यातायात व्यवसायी दिपक बुढाथोकी लगायतले आफ्ना धारणा राखेका थिए । सहजीकरण प्रहरी नायव निरीक्षक भरतनाथ योगीले गरेका थिए ।

यो समाचारको श्रोत राजधानी

Views: 434

प्रतिक्रिया (०)

सम्बन्धित खबर