

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व विशेष गरी सनातन हिन्दू धर्ममा आस्था राख्नेहरूको विशेष पर्व हो। यस पर्वमा ब्रह्मसूत्रधारीहरूले पवित्र नदी, तलाउ, पोखरी, जलाशयमा गई पूजा सामग्री, जौं, तिल, गाईको गोबर, माटो, भस्म, कुश, दूबो, दतिउँन आदि सामग्री प्रयोग गर्दै विधिपूर्वक स्नान गर्दछन्। गोमय, मृत्तिका, भस्मको प्रयोग गर्दै गरिने स्नानलाई गणस्नानका साथै श्रावणी स्नान पनि भनिन्छ। प्रातःकालीन स्नानपछि गुरु–शिष्य सहित समाजमा रहेका व्यक्तिहरूको सामूहिक सहभागितामा यज्ञोपवीत ÷ जनै तथा रक्षाबन्धन ÷ डोरोको विधिपूर्वक वैदिक तथा पौराणिक मन्त्रहरूद्वारा पूजा गरिन्छ।
कपासलाई काँचो धागोमा परिणत गरी धागोबाट बनाइने जनैको त्यान्द्रोलाई किन यति धेरै प्राथमिकता दिइन्छ भन्ने प्रश्न उठाइन्छ र उठाइनु पनि स्वाभाविक नै हो, तर यसलाई भौतिकवादी दृष्टिले हेर्दा यसको महत्व सोचे जस्तो त्यति कमजोर भने छैन।
धार्मिक तथा वैज्ञानिक महत्वका साथ हेर्ने हो भने यसको गरिमा र महिमा विशाल छ। यहीं विशेषण र विशेषता बोकेको सूत्र ÷ धागोमार्फत निर्माण गरिएको जनैको विशेष महत्व छ। समाजमा रहेका सबै तह र तप्काका सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने अनुयायीहरूलाई एकै सूत्रमा बाँध्ने पवित्र पर्व नै जनै पूर्णिमा हो। यज्ञोपवीतलाई किन यति महत्व दिइन्छ, यसको महनीयताका सम्बन्धमा हाम्रो प्राच्यविधाले धार्मिक र वैज्ञानिक आधारमा कसरी वर्णन गरेका छन् भन्ने विषय यहाँ प्रस्तुत गरिन्छ।
जनै / यज्ञोपवीतको परिभाषा :
यज्ञो वै विष्णुः।
यज्ञाख्यः परमात्मा य उच्यते चैव होतृभिः।
उपवीतं ततोऽस्येदं तस्माद् यज्ञोपवीतकम्।।
यज्ञ = यज्ञद्वारा संस्कार गरिएको, पवित्र पारिएको। उपवीत = परिधानीय प्रकार सूत्र विशेष धागो / जनै, भगवान् विष्णुको प्रतीक। अग्निका उपासक होताहरूले यज्ञपुरुषका रूपमा भगवान् विष्णुलाई लिएका छन् भने त्यहीं यज्ञबाट संस्कार गरिएको उपवीत / सूत्र विशेषलाई यज्ञोपवीत ÷ जनै भनेका छन्।

सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनात्।
तत्सूत्रमुपवीतत्वाद् ब्रह्मसूत्रमिति स्मृतम्।।
ब्रह्मज्ञान र वेदप्रतिपादित विषयको द्योतक / सूचक जुन सूत्र छ, त्यो नै ब्रह्मसूत्र / जनै हो।
वेद चार र गायत्री मन्त्र चौबीस अक्षरले गुणा गर्दा आउने ९६ संख्याको समूह र तिथि, बार, नक्षत्र, तत्त्व, वेद, गुण, काल र मासको पूर्ण संख्या ९६ फन्कालाई ब्रह्मसूत्रको आधार मानिएको छ।
तिथिर्वारश्च नक्षत्रं तत्ववेदगुणान्वितम्।
कालत्रयं च मासाश्च ब्रह्मसूत्रं हि षण्णवम्।।
तिथि – १५
वार – ७
नक्षत्र – २७
तत्त्व – २५
वेद – ४
गुण – ३
काल – ३
मास – १२
९६ संख्या हातको चार औंलाको मूल भागमा दुई डोराले युक्त ९६ फन्का बेर्दा यी माथिका छयानब्बे नाम उच्चारणका साथ आधान गर्नु पर्दछ। उक्त धागोलाई पुनः तीन डोरामा परिणत गरी बाट्नु पर्ने हुन्छ। यसरी बाटिएको धागोलाई तेब्बर पारी बाट्दा ९ डोराको हुन पुग्दछ। यी ९ डोरामा ॐकारादि गरिएका नौ वटा देवताहरूको आवाहनपूर्वक पञ्चशिखामा ब्रह्मादि गरिएका देवताहरूलाई न्यास गरिन्छ।
जनैको लम्बाइका बारेमा — वामस्कन्धदेखि नाभि / नाभी हुँदै कटि / कम्मर सम्मको हुनु पर्दछ। लामोमा कम्मर भन्दा तल र छोटोमा नाभी भन्दा माथि हुनु हुँदैन।
प्रातःकालीन समयमा यी माथिका प्रक्रियाहरूलाई आत्मसात गर्दै निर्माण गरिएको जनै नै शुद्ध र परिष्कृत हुन पुग्दछ। सबै शक्तिहरूले बास गर्ने परमपवित्र यज्ञोपवीत आफैंमा सिद्ध छ।
देवताहरूले पनि धारणा गर्ने सर्वशक्तिमान् जनै र डोराको अभिमन्त्रण जनै पूर्णिमाका दिन अरुन्धतीसहित कश्यपादि सप्तऋषिहरूको पूजा, रुद्राभिषेक, ऋषि श्राद्ध, देवता, गुरु र स्वपितृहरूलाई यज्ञोपवीत दान गरिन्छ।
“स्वाध्यायोऽध्येतव्य“ — वर्षभरि स्वाध्याय गरिएका वेदादि मन्त्रहरूको पुनरावृत्ति गर्दै अध्यायोपाकर्म गरिन्छ। माथि बताइएका देवताहरूको पूजा गर्दै विभिन्न अनुष्ठान पूरा गरिन्छ। यसरी विधिपूर्वक बनाउनुका साथै मन्त्रण गरिएको जनै लगाउनका लागि तयार हुन्छ।
यज्ञोपवीतं परमं पवित्रं
प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं
यज्ञोपवीतं बलमस्तु तेजः।।
प्रजापतिद्वारा निर्माण गरिएको, यज्ञद्वारा पवित्र पारिएको यज्ञोपवीत / जनै धारणा गर्दछु, जसबाट मलाई आयु, विद्या, मेधा, यश, बल आदि सामथ्र्य प्राप्त हुन्।
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।
तेन त्वं प्रतिबध्नामि रक्षे मा चल मा चल।।
भगवान् वामनले सत्यताका लागि वाणीरूपी (तीन पाउ जमिनका माध्यमबाट) सूत्र / बन्धनद्वारा दानवका बलशाली राजा बलिलाई जसरी बाँध्नु भएको छ, त्यसैगरी यो रक्षासूत्रद्वारा तिमीलाई पनि बाँध्छु, सदा–सर्वदा तिम्रो रक्षा तीनै वामनले गरून्।
श्रावण महिनामा जंगलमा रहेका जडीबुटीको चरनमा रहेका गाईको गोबर शरीरमा लेपन गर्नाले सबै रोगको निदान हुन्छ। यज्ञीय समिधाको भस्म, चोखो माटो लेपन गर्नाले पञ्चतत्त्वबाट प्राप्त हुने आवश्यक ऊर्जा शरीरले ग्रहण गर्न पुग्छ। आयुर्वेदका अनुसार महौषधिको रूपमा रहेका कुश, दूबो, अपामार्ग / दतिवनको प्रयोगले आरोग्यता प्राप्त गर्न सकिन्छ। सर्वजन हिताय, सर्वजन सुखायका रूपमा रहेका चाडपर्व हाम्रा अमूल्य सांस्कृतिक निधि हुन्। यिनीहरूमा रहेका अति विशिष्ट पक्षको पहिचान र प्रयोग हुनु मानव कल्याणका लागि उत्तम विषय हो।
जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगाउनु पर्छः
यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।
पुरानो जनै त्याग गर्ने मन्त्रः
एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम्।।
पुरानो जनै त्याग्ने निर्णयः
सूतके मृतके चैव गते मासचतुष्टये।
नवयज्ञोपवीतानि धृत्वा जीर्णानि संत्यजेत्।।
यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो। शिक्षा ग्रहण गर्नुपूर्व यज्ञोपवीत धारण गरी मर्यादित शिक्षा ग्रहणको शुभारम्भ गर्ने चलन थियो। सिधा भन्दा स्कुल भर्ना गर्न योग्य मर्यादा पुरुषोत्तम श्रीराम, योगीराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रह्माजी, महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रुक्मिणी, माता सरस्वती, देवी कुन्ती, सतिसाध्वी द्रौपदी, त्यसैगरी लंकापति राक्षस रावण आदि सबै हामीले मान्ने भगवान् तथा नर–नारीहरूले जनै धारण गर्दथे।
जब देव–देवीदेखि लिएर लोकका नर–नारीसम्मले जनै लगाउने प्रचलन थियो भने स्त्रीले जनै धारण गर्नु हुँदैन भन्नु सरासर गलत हो। जनै ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ — यी तीन आश्रममा रहँदामात्र धारण गरिन्छ। चतुर्थ आश्रम सन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ। भगवान् गौतम बुद्धले समेत सन्यास ग्रहण गर्नु पूर्व शिखा (टुप्पी) र जनै त्याग गरेको शास्त्रीय प्रमाण छन्।
जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, वचन र कर्मको एकताको शिक्षा दिन्छन्। जे मनमा छ, त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्छ। जब मन, वचन र कर्म एक हुन जान्छन्, मनुष्य महात्मा बन्दछ; अन्यथा त्यो झोले वा दुरात्मा बन्दछ।
जनैका पवित्र तन्तुमा नौ देवहरू अवस्थित रहन्छन् —
ओङ्कारः प्रथमे तन्तौ द्वितीयेऽग्निस्तथैव च।
तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता।।
पञ्चमे पितृदैवत्यं, षष्ठे चैव प्रजापतिः।
सप्तमे मरुतश्चैव, अष्टमे सूर्य एवं च।।
सर्वे देवास्तु नवमे इत्येतास्तन्तु देवताः।।
पहिलोमा ओंकार, दोस्रोमा अग्नि, तेस्रोमा अनन्त, चौथोमा चन्द्रमा, पाँचौँमा पितृगण, छैठौँमा प्रजापति, सातौँमा वायु, आठौँमा सूर्य र नवौँ सूत्रमा सबै देवता प्रतिष्ठित छन्।
जनै धारण गर्ने व्यक्तिले जनैका सूत्रहरूमा स्थीत नौ देवतासँग सम्बन्धित रहेका निम्न लिखित गुणहरूलाई आफू भित्र धारण गर्नुपर्छ —
ओंकार – एकत्वको प्रकाश, ब्रह्मज्ञान।
अग्नि – तेज, प्रकाश, पापदहन।
अनन्त – अपार धैर्य र स्थिरता।
चन्द्रमा – मधुरता, शीतलता र सर्वप्रियता।
पितृगण – आशिर्वाद, दान र स्नेह।
प्रजापति – प्रजापालन, प्रेम र सौहार्द।
वायु – पवित्रता, बलशालिता र धारणशक्ति।
सूर्य – गुणग्रहण, नियमितता, प्रकाश, अन्धकारनाश र मलशोषण।
सर्वे देवता – दिव्य र सात्विक जीवन।
हाम्रा मौलिक पर्वका विशेषताको व्याख्या गर्न कठिन छ। सनातन धर्म, आस्था र विचारको पुनर्जागरण गरी जन–जनमा पुर्याउन जरुरी छ। सनातन धर्म भित्र रहेका अनेकौँ पर्वको विविधता नै सनातन धर्मको एकता हो, जुन हाम्रो गौरव हो।
आजको दिन विश्व संस्कृत दिवस पनि हो। सन् १९६९ देखि संस्कृत दिवस मनाउँदै आएको पाइन्छ। विश्वका भाषा मध्ये धेरै भाषाको जननी संस्कृत भाषा भएको हुँदा, संस्कृत भाषाप्रति आजको दिनमा कृतज्ञता र सम्मान गरी विभिन्न धार्मिक, सांस्कृतिक संघ–संस्था, गुरुकुल आदि द्वारा भव्यरूपमा मनाउँदै आइएको छ। राष्ट्रिय हिन्दू एकता मञ्च नेपालले स्थापनाकालदेखि नै यस दिनलाई संस्कृत दिवसका रूपमा मनाउँदै आएको छ। संस्कृतबाट प्रवचन गरी संस्कृत भाषाको महत्वका बारेमा दर्शाइने गरिन्छ।
नेपालको लागि विडम्बना नै भन्नुपर्छ — हाम्रा मौलिकता, संस्कार, संस्कृत भाषा, लिपि, परम्परा आदि राम्रा हुँदा हुँदै पनि छायामा पारिएका छन्। शासन व्यवस्था परिवर्तनका नाममा जब २००९ सालमा वामपन्थी विचार बोक्नेहरूको प्रगतिशील लेखक संघ र २०१० सालमा त्यसलाई काउन्टर दिन नेपाली काँग्रेस समर्थकको लेखक संघ स्थापना भयो, त्यसपछि आफ्ना पार्टी–दलका विचार बोक्दै परिवर्तनका नाममा हाम्रा मौलिक संस्कार र संस्कृतिविरुद्ध नै लागिपर्दै ‘बुर्जुवा’ भन्दै ओझेलमा पारियो।
पछिल्लो पुस्ताका युवाहरू हाम्रा अथाहा ज्ञानपद्धति, आचरण, अनुशासन आदि बाट वञ्चित हुन पुगे र धर्म–संस्कृतिको महत्व ओझेलमा प¥यो। देश केवल भूगोल वा माटोले मात्र देश हुँदैन, देशको पहिचान आस्था, मौलिक संस्कार र संस्कृति हुन्छ भन्ने हेक्का नभएका कारण व्यवस्था सँग तुलना गरी मौलिकता विरोधीहरूको स्थापना हुँदा यो अवस्था आयो। तर आज बिस्तारै चेतनाको दीप प्रज्वलित हुँदै विभिन्न विद्वानहरूबाट कलम चलाउन थालेपछि एक किसिमले जागरणको सुरुवात भएको छ, भने कतिपयले त आज पनि मौलिकता–परम्पराको कुरा सुन्न समेत रुचाउँदैनन्। यसलाई पुनर्जागरण गर्न राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल र चेतना साहित्य समाजले हरेक संस्कार–संस्कृति पर्व, मौलिकतासँग गाँसिएका सबैलाई एकीकृत गर्दै जागरणमा एक इट्टा थप्ने काम गर्दै आएको छ।
हामीले यदि नेपालका ॐकार परिवारभित्रका स्वधर्म, संस्कार, संस्कृत भाषा, लिपि, ग्रन्थ आदि पुनर्जागरण गर्न सके नेपाल विश्वगुरु देशका रूपमा परिचित हुनेछ। विश्वका करिब तीन अर्ब ॐकार परिवारको तीर्थस्थल बन्नेछ। विश्वमा एक मात्र तपोभूमि, वेदभूमि नेपाल हो भने अन्य देशहरू भोगभूमिमात्र हुन्। त्यसैले नेपाललाई मात्र ‘नेपाल आमा’ भनेर पुकारिन्छ। तप, ध्यान, साधना गर्न नेपालको हिमवत्खण्डभूमिलाई रुचाउने, नेपाली माटोमै गरिएको साधनामात्र सिद्ध हुन्छ भन्ने मान्यता छ।
त्यसैले हामी सबै जागौँ, उठौँ, हाम्रा पर्वको महिमा जन–जनमा पुर्याऔँ। संस्कृत दिवस एवं जनै पूर्णिमाको हार्दिक शुभकामना। जय सनातन धर्म, जय चेतना साहित्य समाज। ॐ ॐ ॐ
इन्द्र प्रसाद ओली
अध्यक्ष
राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल
केन्द्रीय कार्यालय भद्रपुर–७, झापा



