कनकाई — लागुपदार्थ दुर्व्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ ‘युवाहरुका लागि जीवन रूपान्तरणको नयाँ अध्याय’ भन्ने मूल नारामा साउनको अन्तिम सोमबार एकदिवसीय कार्यक्रम सम्पन्न गरिएको छ।

भक्ति मार्ग युवा समाजको आयोजना र त्रिपुरारि समूहको सहयोगमा भएको कार्यक्रममा पाँच फुट अग्लो पार्थिव शिवलिङ्ग पूजन, लघु रुद्राभिषेक, श्रीङ्गार महाआरती, भण्डारा तथा युवालाई लक्षित मोटिभेशनल सत्र सम्पन्न गरिएको थियो।

समाजका परिकल्पनाकार तथा संकल्पकर्ता पं. सुवास भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव अग्रज पत्रकार चन्द्र भण्डारी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदी, डा. पुण्यप्रसाद सिग्देल, आचार्य पं. दुर्गाप्रसाद खतिवडा, आर्ष विज्ञान प्रतिष्ठानका केन्द्रीय संस्थापक अध्यक्ष आचार्य पं. विष्णुदेव, सोही प्रतिष्ठानका महासचिव तथा यज्ञाचार्य आचार्य पं. मुकुन्द खनाल, कनकाई धार्मिक क्षेत्र कोटिहोमधाम समितिका अध्यक्ष शेरबहादुर थापा लगायतको आतिथ्य थियो।


स्वागत मन्तव्य पं. रोशन भट्टराईले राखेका थिए भने आचार्य दुर्गाप्रसाद खतिवडा, अध्यक्ष शेरबहादुर थापा र डा. पुण्यप्रसाद सिग्देलले शुभकामना मन्तव्य दिएका थिए।

