Aamsanchar

एसियन हाइवे : बिर्तामोडमा सार्वजनिक सुनुवाइ, नागरिकको एउटै स्वर– ‘हाम्रो सहमतिविना विकास होइन’

Author Image
शुक्रवार, भदौ ६, २०८२

बिर्तामोड । निर्माणाधीन एसियन हाइवे पूर्वी खण्डबारे बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीय सरोकारवालाले दर्जनौँ प्रश्न र चिन्ता पोखेका छन् । ‘विकास हाम्रो सरोकार हो तर हाम्रो सहमतिविना होइन’ भन्ने भाव सहभागीहरूको साझा स्वर रह्यो ।

ओभरपासदेखि पार्किङसम्म चिन्ता

जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ले बिर्तामोड र चारपानेमा प्रस्तावित ओभरपासबारे गम्भीर प्रश्न उठाए । “स्थानीयसँग छलफलै नगरी ड्याम उठाएर सडक बनाइँदै छ भने हामीलाई आवतजावतमै समस्या हुन्छ,” उनले भने ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले पार्किङलाई प्रमुख चुनौतीको रुपमा औंल्याए । उनका अनुसार ओभरब्रिज नभए सहरमा पार्किङ थप अस्तव्यस्त हुनेछ । उनले अटो र सिटी सफारीका लागि छुट्टै पार्किङ क्षेत्र तोक्न र मुक्ति चोक आसपासका तार भूमिगत गरेर सहरलाई ‘पोल–फ्री जोन’ बनाउन नगरपालिकालाई सुझाव दिए ।

निकास, शौचालय र खानेपानीको माग

स्थानीय राजु ओलीले पानीको प्राकृतिक बहावलाई ध्यान नदिएमा हरेक वर्ष बाढी समस्या हुने चेतावनी दिए । उनले सडकसँगै सार्वजनिक शौचालय र खानेपानीको उचित प्रवन्ध मागे । व्यवसायी सुरेश अग्रवाल भद्रपुरेले पनि सहरमै तत्काल सार्वजनिक शौचालय र पिउने पानीको सुविधा आवश्यक भएको बताए ।

अनुशासनहीन पार्किङ र मदिरा विक्री

चेम्बर अफ कमर्श अध्यक्ष ओमकृष्ण विमली र अलौची व्यवसायी महासंघ अध्यक्ष निर्मल भट्टराई दुबै जना पार्किङ प्रबन्धबारे आक्रोशित देखिए । “भवन बनाउँदा पार्किङ अनिवार्य भनिन्छ, तर ती पार्किङ अरू काममा प्रयोग हुन्छन्, यो नियन्त्रित हुनुपर्छ,” भट्टराईले भने ।

महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाले भने घरेलु मदिराको खुलेआम बिक्रीप्रति असन्तुष्टि जनाइन् । उनले सुधार केन्द्रदेखि बजारमा सहजै पाइने घरेलु मदिरासम्म नियमनमा ल्याउन माग गरिन् ।

ट्राफिक र लागू औषधप्रति चिन्ता

औषधि व्यवसायी गौरीशंकर गुप्ता ‘टिङ्कु’ले सिटी र टेम्पोमा भाडा मनपरी भएकाले सर्वसाधारण दैनिक ठगिनुपरेको बताए । “एकरुप भाडा सूची सार्वजनिक नगरिएसम्म यो समस्या समाधान हुँदैन,” उनले भने ।

राप्रपाकी नेतृ रञ्जु बरालले भने अझै ठूलो समस्या औंल्याइन् । उनका अनुसार बिर्तामोड अहिले लागू औषध दुव्र्यसनीको केन्द्र बन्दै गएको छ । “पोलिसले चासो त देखाएको छ, तर मुख्य नाइकेहरू अझै पक्राउ परेको देखिँदैन,” उनले आपत्ति जनाइन् ।

प्रश्नको जवाफ

सुनुवाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, एसपी राजन लिम्बू, नगर प्रमुख पवित्रा महतारा प्रसाई, एसियन हाइवे पूर्वी खण्ड प्रमुख सुनिलबाबु पन्त, विद्युत प्राधिकरण प्रमुख सञ्जीवकुमार साहलगायत सरोकारवालाले सहभागीहरूको प्रश्न र सुझाव सुने र जवाफ दिएका थिए ।

कार्यक्रम संघ अध्यक्ष राजु न्यौपानेको अध्यक्षता, उपाध्यक्ष जीवनकुमार खड्काको स्वागत मन्तव्य र महासचिव कुशल खतिवडाको सञ्चालनमा सम्पन्न भएको थियो । नागरिक समाज, व्यवसायी, संघ–संस्था, स्थानीय अगुवा र आम सर्वसाधारणको उपस्थिती हल भरीभराउ भएको थियो ।

भिडियो हेर्नुहोस ।

Views: 222

प्रतिक्रिया (०)