Aamsanchar

जेनजीको विरोध रोक्न प्रहरीले ब्यारिकेट लगायाे

Author Image
सोमवार, भदौ २३, २०८२

विराटनगर – जिल्ला प्रशासन कार्यालय आसपास जेनजीको विरोध रोक्न प्रहरीले ब्यारिकेट लगाएको छ । जिल्ला प्रशासन परिसर छिर्ने बाटोदेखि नै प्रहरीले बिहानै ब्यारिकेट खडा गरेको हो ।

विराटनगरमा बिहानैदेखि पानी परिरहेको छ । तर, यसका बाबजुद प्रहरी खटिएर प्रदर्शन रोक्न फलामे तारजालीसहितको ब्यारिकेट राखेका हुन् ।

सामाजिक सञ्जाल बन्दको विरोधमा जेनरेसन जेड (जेनजी) सम्बद्ध युवाले विराटनगरमा पनि शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन् ।

उनीहरूले दिउँसो महेन्द्र चोकमा भेला भई सरकारको निर्णयविरुद्ध विरोध जनाउने तयारी गरेका हुन् । त्यसअघि संसारीमाई स्थानमा भेला भएर शान्तिपूर्ण जुलुस प्रशासन कार्यालयतिर अघि बढ्ने पूर्वनिर्धारित कार्यक्रम छ ।

प्रदर्शनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गरिएका छन् । किताब र आफूले तयार पारेको प्लेकार्ड बोकेर सहभागिता जनाउन अपिल गरिएको छ ।

विराटनगरमा १ देखि २ घण्टासम्म प्रदर्शन चल्ने बताइएको छ । बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयनजिकै पनि छुट्टै प्रदर्शनको तयारी गरिएको छ ।

सामाजिक सञ्जाल बन्द र अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने सरकारी कदमविरुद्ध देशभर फैलिँदै गएको जेनजी आन्दोलन काठमाडौंमा भइरहेको छ ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले भने जेनजी आन्दोलनलाई राजनीतिक उद्देश्यले प्रेरित गरिएको भन्दै टिप्पणी गरेका छन् ।

Views: 90

प्रतिक्रिया (०)