Aamsanchar

सभापति देउवा आफ्नै संस्थापन घेराबन्दीमा

Author Image
मङ्गलवार, भदौ २४, २०८२

पन्ध्रौं महाअधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाले सभापतिमा विधान अनुसार उम्मेदवारी दिन नपाउने भएपछि संस्थापन समूह भित्र नै देउवा कमजोर र निरिह वन्दै जाने अवस्था सिर्जना हुँदै गएको देखिएको छ। संस्थापन समूह भित्र सात भाइको दबाव र प्रभाव सभापति देउवामा भारी पर्न थालेको छ। सात भाइको निर्णय भन्दा फरक निर्णय देउवाले गर्न नसक्ने परिस्थिति सात भाइले गरेका छन्। देउवाको रुचि आफु पछिको उत्तराधिकारीमा छनौट गर्दा सात भाइको निर्णय र रुचि भन्दा फरक हुने कारणले नै सात भाइ यस विषयमा एकमत भएका हुन्।

विगत दश वर्ष भन्दा अघि देखि देउवा नजिक रहेर देउवाकै छककाया भएर राजनीतिक सहयोग गर्दै देउवालाई पार्टी भित्र एक्का बनाएका समूह भित्रकै सात भाइको घेराबन्दीमा देउवा पर्दै गएका छन्। सात भाइको निर्णय र इच्छित पात्र विपरित देउवाको इच्छित पात्र भोलीको उत्तराधिकारी घोषणा भएमा कांग्रेसको राजनीति देउवाकै पकडमा रहिरहने र सात भाइको निष्कर्ष पुनः देउवाकै वरिपरी घुमिरहनु पर्ने दृश्य सात भाइले देख्न थालेका छन्। यही दृश्यबाट मुक्त हुन सात भाइले गुप्त र मौन विद्रोह गरे र हाम्रो निर्णय देउवाले स्विकार्नु पर्छ भन्नु हो। सात भाइले यस विषयमा पटक–पटक दबाव र प्रभाव पार्न थालेका छन्।

संस्थापन समूह भित्र सात भाइ मात्र छैन, त्यो समूह बाहिर पनि देउवाका सहयोगी र विश्वास पात्र छन्। अहिले कांग्रेस भित्र, चाहे चाहेर वा नचाहेर, संगठनलाई कमजोर र निरिह बनाउन नचाहे पनि नगरे पनि संस्थापन समूहको त्यो द्वन्दले गुप्त रूपमा काम गरेकै छ र कालान्तरमा त्यो उद्घाटित हुनेछ।

अहिले कांग्रेस तेर्हौं–चौधौं महाअधिवेशन पूर्वको अवस्थामा छैन। अहिले कांग्रेसको इतिहासमै संगठन सबैभन्दा खराब र जरजर अवस्थामा छ। कांग्रेसको कुनै पनि भातृसंघ संगठन दुरुस्त, चलायमान र उर्जाशील छैन। क्रियाशील सदस्यता हालसम्म नविकरण हुन नसक्नु, भातृ संघ संगठनको अधिवेशन हुन नसक्नु, जनतामा कांग्रेस जान र नजिक हुन नसक्नु कांग्रेस कमजोर हुनु आन्तरिक संगठनात्मक कारण हो भने, राष्ट्रिय र बाह्य कारण गणतन्त्र आएपछि सरकार संचालनमा कांग्रेस कम्युनिष्ट दलसँग गठबन्धन गर्दै सरकारमा बस्नु वा सरकारको नेतृत्व गर्नु पनि कांग्रेसको राजनीति, विचार, आदर्श, निष्ठा स्खलन हुँदै गएको हो।

गठबन्धनमा कांग्रेस पुगेपछि कांग्रेसले गठबन्धनको औचित्य र आवश्यकता देखाउँदै सहमति बमोजिम कार्यसम्पादन गर्ने वचनबद्धतामा गरे अनुसार गर्न नसक्नु, जनविश्वास बढाउन नसक्नु नै हो। अझ अहिले गरेको गठबन्धन, संविधान संशोधन भन्दै सात बुँदे सहमति गर्नु र सहमत अनुसार केही हुदैन हुनु कांग्रेस संगठनात्मक रूपमा कमजोर देखिनु बाह्य कारण हो। यसले कांग्रेसको राजनीति, आदर्श, सिद्धान्त र विचार धुमिल हुँदै गएको छ।

२०१७ भन्दा पूर्व र राणाकालीन समयमा नेपाली कांग्रेसको संगठनात्मक अवस्था अहिले जस्तो थिएन। लुकी–छिपी संगठन चलाउनु पर्थ्यो। २०१७ पछि पनि कांग्रेस प्रतिबन्धित अवस्थामै थियो। त्यतिखेर संगठन कमजोर भए पनि कांग्रेसको सिद्धान्त, विचार र निष्ठा बलवान थियो। वी.पी.को विचारमा कार्यकर्ता समाहित थिए। वी.पी.को निर्देशनमा आफ्नो जीवन दिन तयार थिए। वी.पी.कै विचारमा कांग्रेस जीवित र बलियो थियो र कार्यकर्तामा गर्व थियो। धेरै प्रतिगामीको अगाडि एक काग्रेसी नै भारी पर्थ्यो। अहिले वी.पी.ले लिएको सिद्धान्त, विचार र निष्ठा कांग्रेसले बोकेको छैन। कांग्रेसमा सुकिला–मुकिलाको दबाब र लोभी पापी देखिएको कारणले कांग्रेसको संगठन कमजोर हुँदै गएको छ। संगठनको लागि झुण्ड र भिड बोकेर हिँड्नु भन्दा सिद्धान्त, विचार र निष्ठा बोकेर हिँड्नु पर्ने वी.पी.को सन्देश अहिले कांग्रेसले बिर्सिसकेको छ र संगठन कमजोर भएको छ।

राजनीतिक दल भित्र संस्थापन र संस्थापन इतर हुनु स्वाभाविक हो। अहिले सबै दलमा संस्थापन र संस्थापन इतर छन्। अन्य दलको तुलनामा अपेक्षा गरिएको बढी नेपाली कांग्रेसमा छ। कांग्रेस प्रजातान्त्रिक पार्टी भएकै कारण यस्तो हुनु स्वाभाविक हो। यसले पार्टीमा रहेको विसंगति र कमजोरी मात्र इंगित गर्दैन, नेतृत्व तहमा बस्ने विरुद्ध पनि खबरदारी गर्छ। गुण र अवगुण दुबैको पार्टीमा बहस र छलफल गर्दै सच्चिन र सुधार गर्न नेतृत्व तहलाई ध्यानाकर्षण गराउँछ।

कांग्रेस बाहेकका दल, अझ विशेष गरी वामपन्थी दलमा संस्थापन–इतर हुनु राम्रो मानिँदैन। ती दलमा लोकतान्त्रिक संस्कारभन्दा नेतृत्व तहको तानाशाही प्रवृत्ति अधिनायक प्रवृत्ति हुन्छ। भर्खरै गोदावरीमा भएको एमालेको विधान अधिवेशनमा पनि संस्थापन इतरले फरक मत राख्दै लोकतन्त्र अभ्यासमा संकुचन नियन्त्रित गरेको छ। संस्थापनको यही गुण, राजनीतिक संस्कार, विशेषता र प्रवृत्तिका कारण अन्य दलको तुलनामा कम्युनिष्ट दलमा धेरै विभाजन आएको देखिन्छ।

कांग्रेसको संस्थापन–इतर
अहिले कांग्रेसको संस्थापन–इतरको नेतृत्व डा. शेखर कोइरालाले गरेका छन्। डा. शेखर अहिले कांग्रेस भित्र ठूलो चुनौतीको सामना गर्दै छन्। उनको चुनौती पहिलो, संस्थापन–इतरको नेतृत्व गर्नु हो। अर्को चुनौती भनेको अहिलेको कांग्रेसको वर्तमान संगठनात्मक अवस्थाको सुधार गर्नु र वी.पी.को पथमा अग्रसर गराउनु हो। अर्को, कांग्रेसले गरेको वर्तमान गठबन्धनको सरकार, जस्तो कि अहिले भर्खरै कांग्रेस–एमालेको गठबन्धन सरकार भए पनि कम्युनिष्ट दलको सभापतिको नेतृत्वको सरकारले सामाजिक सञ्जालमा रोक लगाएर विचार र अभिव्यक्तिको स्वतन्त्रतामा अंकुस लगाएको छ, त्यो आश्चर्य होइन। विचार र अभिव्यक्ति स्वतन्त्रता पहिलो शर्त मान्ने कांग्रेस, वर्तमान गठबन्धन सरकारमा रहँदा यस्तो निर्णय आउनु आश्चर्य हो। कांग्रेसको विचार र सिद्धान्तको प्रतिबद्धता विरुद्ध पनि हो। यसले कांग्रेसको छवि र संगठनमा प्रतिकूल असर पारेको छ। संस्थापन अहिलेको गठबन्धन जसरि पनि जीवित राख्न चाहन्छ। संस्थापनले गठबन्धन जीवित राख्ने निर्णय गर्दा कांग्रेसको संगठनमा, कांग्रेसको छविमा परेको नकारात्मक प्रभाव देखिरहेको छैन।

त्यो डा. शेखरले देखे र सार्वजनिक मंचबाटै भन्न थाले: “सत्य बोल्नुस, तपाईंहरु सत्य बोल्नुस्, तपाईंहरुको सुरक्षाको जिम्मेवारी म लिन्छु।” अहिले कांग्रेसको दल भित्रको र सरकारको गलत निर्णय र क्रियाकलापको विरोध मात्रै गरेका छैनन्, त्यसको समन गर्ने विधि र उपचारको पद्धती समेत राख्दै आएका छन्। यही कारण डा. शेखरमाथि एकसाथ सरकार र संस्थापन कमजोर बनाउन लागेको छ। यसको ज्वलन्त उदाहरण केही समय पूर्व उनका नजिक रहेका केही कारवाहीमा पर्नु हो। अहिले संस्थापनको ध्यान संगठनभन्दा सरकारमा केन्द्रित छ। र शेखरको ध्यान संगठनमा छ। यस्तो हुनु पनि पन्ध्रौं महाअधिवेशनमा शेखर कोइरालाको सभापतिको उम्मेदवारी हो भने, संस्थापनबाट सभापति देउवाले पुनः सभापतिमा विधानत हुन नपाउनुले पनि संस्थापनको ध्यान सरकारमा केन्द्रित भएको हुन सक्छ।

अहिले कांग्रेसको लागि सरकार गौण र संगठन प्रमुख हुनु पर्ने तर त्यस्तो भइरहेको छैन। प्रधानमन्त्री के.पी. ओलीले सरकार पुनर्गठन गर्ने कुरा गरिरहँदा कांग्रेस सहमत नहुनु पनि सरकारको स्थायित्वमा सन्देह देखेर हुन सक्छ। कांग्रेस भित्र वा कांग्रेस बाहिरबाटै नयाँ समीकरण बन्न सक्ने सम्भावना देखेर कांग्रेस पछाडि परेको हुन सक्छ। यदि यस्तो हो भने यसले कांग्रेसको संगठन नै पछाडि पार्न सक्छ। यो कांग्रेसको लागि संगठनको लागि शुभ होइन।

डा. शेखरको अर्को चुनौती
कोइराला परिवारको विरासत बोकेर राजनीति गर्दै आएका तीन कोइराला तीन तिर छन्। डा. शशांक संस्थापन भित्र रहेर आफ्नो राजनीति पहिचान बनाउन र शिखरमा पुर्‍याउन चाहन्छन् भने सुजाता पछिल्लो समय डा. शेखर नजिक देखिनु भएकी छिन्। डा. शशांकबाट संगठनको नेतृत्व लिन सक्ने अवस्था कांग्रेसले नै देखिरहेको नभए पनि वी.पी. पुत्रकै लिगेसीले आफ्नो बायोडाटा बनाएका छन् र डा. शशांक कांग्रेसको राजनीतिमा चलायमान देखिरहेकाछन्। डा. शेखर र डा. शशांक दुवै आगामी पन्ध्रौं महाअधिवेशनमा सभापतिको लागि दावेदारी प्रस्तुत गरिसकेका छन्। यस्तो परिस्थिति डा. शेखरको लागि सभापति हुन चुनौतीपूर्ण देखिएको छ।

डा. शेखरले यी दुई कोइरालालाई मिलाएर ल्याउन सक्नु भयो भने, संस्थापन भित्र जति सुकै एकता भए पनि डा. शेखरलाई सभापति बन्न कसैले कतैबाट पनि रोक्न वा निषेध गर्न सक्ने छैन। यो चुनौती भेदन गर्न उनको राजनीतिक कौशलतामा निर्भर हुनेछ।

Views: 457

प्रतिक्रिया (०)

सम्बन्धित खबर