Aamsanchar

देशभर बढ्न थाल्यो चिसो, काठमाण्डौमा यसवर्षकै कम तापक्रम

Author Image
मङ्गलवार, कार्तिक २५, २०८२

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा यसवर्षकै न्यून तापक्रम मापन भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । काठमाण्डौमा हिजो न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियसकोबीचमा रहने अनुमान छ । त्यस्तै जुम्लामा अहिले बिहानको न्यूनतम तापक्रम माइनस २।४ डिग्री सेल्सियस मापन भएको छ ।

आज जुम्लामा न्युनतम तापक्रम माइनस तीन डिग्री सेल्सियससम्म झर्न सक्ने अनुमान छ । देशका अरू धेरै ठाउँमा पनि चिसो बढ्न थालेको छ । दिउँसो मौसम सफा भएर घाम लाग्ने गरे पनि बिहान र बेलुका चिसो हुन थालेको हो ।

अबका दिनमा रातमा तापक्रम औसत भन्दा २ देखि ४ डिग्री सेल्सियसले तल झर्ने सम्भावना देखिएको हुँदा चिसोबाट जोगिन विज्ञको आग्रह छ । विपद् तथा जलवायू विज्ञ डा। धर्मराज उप्रेतिले न्यानो लुगा लगाउन र चिसोबाट जोगिन आग्रह गर्नुभएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम सफा छ । आज दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२