Aamsanchar

पत्रु भाँडो र बूढो भान्से

Author Image
बुधवार, मंसिर ४, २०८२


पत्रु भाँडो छ चम्कामा यसैले मान भेट्दछ
कुच्चिएको हलुङ्गेले  चाँदीको नाम मेट्दछ
खाना पूरा डढेको छ पाकशाला धुवाउँछन्
चौताराका बुढा बाजे स्वादको गीत गाउँछन्

छिमेकीका सबै यस्ता थोत्रे भाँडा हटिसके
सङ्रग्रहालयमा छन् वा अस्ति नै गालिइसके
हामी मग्न बनेका छौँ भान्से चोर बनेपनि
स्वाद मान्छौँ सधैँ खाना काँचै थोर भएपनि

भाँडो कोत्रे छ भान्सेको हात काम्दछ थर्थर
मस्तिष्क मुटु रोगी छन्  खानामा आँसु बर्बर
परन्तु मोहको भित्री गोटी चाल्न सिपालु छन्
आफू आफन्तका लागि देशै गाल्न कृपालु छन्

भाँडो कबाडी हो हाम्रा पाककर्मी गफाडी छन्
काँचो बेस्वादको खाना पस्किने नै अगाडि झन्
खुलेरै तिनले धोके भान्साको पूर्ण व्यञ्जन
हामी दासहरू मात्र भएका छौँ अकिञ्चन

भोजनालयका जम्मै भाँडा वर्तन खै लगे
उर्बरा  खेतबारीको  बालीनाली सबै सके
चम्चाले मात्र खाएनन् बेल्चाले हसुरिसके
हाम्रो दलानमा खाल्टो खन्दै छानो धुरी सके

तिनै चालु सधैँ ठालु हन्तकाली अगस्ति छन्
भान्सा भण्डारका चाबी बोक्ने भ्रष्ट प्रवृत्ति झन्
यस्ता कुपात्र मत्ताको भक्ति तोड्न ढिलो भयो
वीरताको नयाँ सत्ता शक्ति जोड्न ढिलो भयो

त्यस्ता भान्से र भाँडाका पात हाँगा जरा सबै
मेरा  हात बनेका हुन् मतदान हुँदा सधैँ
एकै मिनेटमा ढल्छन् के तयार छ मस्तिक ?
मेरै चेतनले  फाल्छन् बने सार्थक स्वस्तिक

आफ्नै जमिनको शुद्ध मृत्तिकाबाट सुन्दर
पात्र राम्रा बनाएर सजाऊँ अब यो घर
माथमा देशको पीर बोक्ने कुशल गायक
चाहियो एउटा वीर विज्ञ असल नायक

Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर