बिर्तामोड।

झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमीले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको छ । शुक्रबार पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीसहित महासंघको टोलीलाई बिद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाई र धर्मा पराजुली प्रसाईले उक्त रकमको चेक हस्तान्तरण गरे ।
२०६० सालमा स्थापित न्यूटन्स विद्यालयमा अहिले कक्षा नर्सरी देखि १२ सम्म १५०० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका कोअर्डिनेटर देवेन्द्र हुमागाईले जानकारी दिए । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषय पढाइ हुने न्यूटन्स पूर्वकै गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षालयको रुपमा परिचित छ ।
सामाजिक उत्तरदायित्व र मानवीय सेवा क्षेत्रमा योगदान स्वरुप पत्रकार उपचार कोषका लागि उक्त रकम प्रदान गरिएको संस्थापक प्रिन्सिपल प्रसाईले बताए ।
पत्रकार महासंघ झापाले एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ ।मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा न्यूटन्स विद्यालयका सञ्चालकले खुशी व्यक्त गरे ।
संस्थापक प्रिन्सिपल प्रसाईले मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिन आफूले झैं सबैमा आग्रह पनि गरेका छन् ।कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघ झापाका उपाध्यक्ष भीमा शिवाकोटीले बताइन् ।
कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए । हालसम्म कोषमा २३ लाख बढी रुपैयाँ जुटिसकेको महासंघ झापाका कार्यवहाक अध्यक्ष गिरीले बताए ।


