

बिर्तामोड ।
झापाको बिर्तामोड निवासी उद्योगपति प्रदिप मित्तलले पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् ।
शनिबार पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उद्योगपति प्रदिप तथा उनका पिता द्वारिकाप्रसाद मित्तलले उक्त रकम हस्तान्तरण गरे ।
आफ्नी माता स्व. सरमनदेवी मित्तलको स्मृतिमा प्रदिप–रेणु मित्तलले विवाहको २५औं वर्ष गाँठको अवसर पारी उक्त रकम हस्तान्तरण गरेका हुन् । पत्रकार महासंघ झापा एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ ।
मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै मित्तलले प्रशंसा गरे ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघ झापाका कार्यसमिति सदस्य लक्ष्मी काफ्लले बताए । कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै ननासिने र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए । हालसम्म कोषमा २३ लाख भन्दा बढी रुपैयाँ जुटिसकेको महासंघ झापाका कार्यवाहक अध्यक्ष गिरीले बताए ।

प्रदिप मित्तलको यात्रा सार्वजनिक

बिर्तामाड ।
बिर्तामोडका युवा उद्योगपति प्रदिप मित्तलको जीवन यात्रा समेटिएको ‘प्रदिप मित्तल एक निरन्तर यात्रा’ नामक पुस्तक तथा श्रव्य दृश्य सामग्री शनिबार बिर्तामोडमा विमोचन भएको छ ।
उक्त समारोहका अध्यक्ष समेत रहेका प्रदिपका पिता द्वारिकाप्रसाद मित्तलले पुस्तकको तथा श्रव्य दृश्य सामग्रीको बिर्तामोडका नव निर्वाचित मेयर धु्रवकुमार शिवाकोटीले विमोचन गरेका थिए ।
उद्योगपति प्रदिपले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर शिवाकोटी, मेचीका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारी, पुस्तकका सम्पादक वरिष्ठ कलाकार लय संग्रौला, मिलाप पब्लिकेशनका सम्पादक÷प्रकाशक कृष्ण भुषाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका वक्ताले युवा उमेरमै सामान्य व्यवसायीदेखि ठूलो उद्योगपतिको रुपमा स्थापित प्रदिपको जीवन संघर्ष र सफलताका रहस्य समेटिएको पुस्तक अरुका लागि प्रेरक भएको बताए । कार्यक्रममा बिर्तामोडकी उपमेयर पवित्रा महतरा प्रसाईं लगायतको आतिथ्य थियो ।
कार्यक्रमको सञ्चालन उपभोक्ता अधिकारवादी मदनगोपाल सुब्बाले गरेका थिए । कभरसहित १८० पृष्ठको पुस्तकमा उद्योगपति प्रदिपको जीवन यात्रादेखि उनको उद्योग व्यवसायका क्षेत्र समेटिएको छ । त्यस्तै उनलाई नजिकबाट चिन्ने सहकर्मीहरुको लेख समेत पुस्तकमा समेटिएको छ । तस्वीरहरुः विनोद पाण्डे(कमल)


