Aamsanchar

सीमाबाट सम्भावनासम्म : काँकरभिट्टामा पर्यटन मञ्च झापाको संवाद

Author Image
सोमवार, पौष ७, २०८२

सीमाको ढोकाबाट पर्यटनको सम्भावना प्रवेश गराउने लक्ष्यसहित पूर्वी नेपालको पर्यटन आवाज एकै थलोमा ल्याउने प्रयास सुरु भएको छ। पूर्वी नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले हालै दर्ता भएको पर्यटन मञ्च झापा, नेपाल ले झापाको काँकरभिट्टामा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको हो।

कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेर पर्यटनलाई आर्थिक मेरुदण्ड बनाउने नीति अघि सारेकै समयमा झापामा मञ्च गठन हुनु अर्थपूर्ण मानिएको छ। संस्था गठनपछिको पहिलो अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा पर्यटन व्यवसायी, नीति–निर्माता, सुरक्षा निकाय, खेलकुद, उद्योग–वाणिज्य र पर्यटन पत्रकारिता क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा गठित मञ्चले सबै क्षेत्रका पर्यटन व्यवसायी र पर्यटनसँग प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूलाई एउटै साझा मञ्चमा जोड्ने लक्ष्य लिएको छ। विशेष क्षेत्रका आ–आफ्नै संघसंस्था मात्र सक्रिय रहँदा समग्र पर्यटनको आवाज कमजोर हुने अवस्थालाई चिर्न मञ्च साझा थलोका रूपमा अघि बढ्ने अध्यक्ष श्रेष्ठले स्पष्ट पारे।

अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा, पर्यटन अधिकृत निरोज कट्टेल, पर्यटन पत्रकार मञ्च झापाका सचिव हिमाल खरेललगायतले मञ्चको पहललाई स्वागत गर्दै शुभकामना व्यक्त गरे।

सीमापार पर्यटनको वर्तमान अवस्था, चुनौती र अवसरका विषयमा केन्द्रित छलफलमा अध्यागमन कार्यालयका इन्द्रकुमार राजवंशी, कराते प्रशिक्षक राजु महर्जन, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष भूमि पौडेल, जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव दीपक ओली, सुरेशगोपाल प्रधान, धर्मराज भण्डारीलगायतले आफ्ना धारणा राख्दै झापाको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सम्भावनामा जोड दिएका थिए।

कार्यक्रमको सहजीकरण मञ्चका सचिव नवीन खरेलले गरेका थिए भने पर्यटन अधिकृत निरोज कट्टेलले झापामा रहेका पर्यटन सम्भावना, संरचनागत चुनौती र अब गर्न सकिने ठोस कामका बारेमा जानकारी गराएका थिए।

सीमावर्ती जिल्ला झापाबाट सुरु भएको यो पहलले पूर्वी नेपालको पर्यटनलाई एकीकृत रूपमा अघि बढाउने आशा र सन्देश दिएको सहभागीहरूको भनाइ छ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर